Newslaya Home

​गाउँमा मोबाइल एप्लिकेसनबाट कारोबार

बिहीबार २१, असार २०७५

इटहरी । प्रविधिको प्रयोग अहिले अत्यावश्यक झै भएको छ । मानिसहरु फेसबुकजस्ता सामाजिक सञ्जालमा बानी पर्दै गएका छन् । प्रविधिकै प्रयोग गरेर सानादेखि ठूला कामहरु सम्पन्न हुने गरेको अहिलेको समयमा जीवन विकास समाज नामक संस्थाले मोबाइल एप्लीकेसनमार्फत् सेवाग्राहीहरुलाई सेवा दिन थालेको छ । 

आर्थिक अवस्था न्युन भएको समुदायमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको उक्त संस्थाले एक महिनाअघि मात्र एप्लीकेसन सञ्चालनमा ल्याएको हो ।

एप्लीकेसनबारे अहिले पढ लेख गर्न सक्ने र मोबाइल चलाउने सदस्यहरुलाई बुझाउन थालिएको छ । यस्तो एप्लिेकसनको प्रयोगबाट सेवाग्राहीहरुले आफ्नो एकाउन्टको ब्यालेन्स चेक गर्ने, पैसा झिक्ने र राख्ने काम गर्न सक्ने संस्थाका सुचना व्यवस्थापन विभाग प्रमुख रमेश रायले जानकारी दिए ।

एप्लीकेसनलाई अहिलेसम्ममा संस्थाका १८ हजार बढी सदस्यहरुले प्रयोग गरिरहेको उनले बताए । स्मार्टफोन प्रयोग गर्ने ग्राहकहरुले एप्लीकेसन चलाउन सक्छन् । 

एप्लीकेसनको प्रयोगले प्रयोगकर्ताहरुलाई सुचनाप्रविधिसँग नजिक बनाउने काम गरेको रायले बताए । क्यास लेस कारोबार गर्ने परिपाटी विश्वमा बढ्दै गइरहेकोले गाउँ गाउँमा सुचनाप्रविधिको विषयमा बुझाएर बानी पार्नको लागि यसो गरिएको रायले जानकारी दिए ।

जीवन विकास समाजले सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर, सिन्धुलीलगायत देशभरमा ७० भन्दा बढी शाखाहरुमार्फत् दुई लाख बढी सदस्यहरुलाई वित्तीय तथा सामाजिक सेवा दिइरहेको छ । आर्थिक अवस्था न्युन रहेका र शिक्षाबाट समेत टाढा रहेका सदस्यहरुलाई संस्थाले वित्तीय साक्षर बनाउने, सरसफाइको लागि प्रेरित गर्ने, सोलारको उज्यालोमा बस्न सहयोग गर्ने लगायतका काम गर्दै आएको छ ।

शिक्षा, स्वास्थ्य, सशक्तिकरण, सरसफाइ लगायतका क्षेत्रमा व्यवशायीक तथा सामाजिक कामहरु गरिरहेको यो संस्थाले सदस्यहरुलाई विपत्मा आर्थिक सहायता, विपन्नलाई राहत समेत दिने गरेको छ । संस्थाले ठूला अस्पतालसँगको समन्वयमा आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सेवामा सहुलियत दिएको छ भने आफ्नै स्कुलसमेत सञ्चालनमा ल्याएको छ ।