Newslaya Home

​अंश लोभमा परिवारले जिउदै जलाएर मार्यो छोरीलाई

शनिबार २३, असार २०७५

बुटवल । मट्टीतेल छर्केर जलाइएकी रुपन्देहीकी एक किशोरीकोे उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै घरमा सुतेको अवस्थामा जलेर गम्भीर घाइते भएकी कञ्चन गाउपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीकोको उपचारका क्रममा असार २० गते ज्यान गएको हो ।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि यो घटना सार्वजनिक भएको थियो ।

आमा मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा अध्यायन गर्दै आएकी थिइन् । मावली घरमा बस्दै आएकी उनी केही महिना अघि मात्र बाबुको घरमा बस्दै आएकी थिइन् ।

समीक्षा जन्मिएको केहि महिनामै उनका बुबाले दोस्रो बिहे गरेर उनकी आमालाई कुटपिट गरेपछि आमा–छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

मायाका अनुसार ९ कक्षा पास गरेपछि समीक्षा बुबासँग बस्न थालेकी थिइन् । तर, समीक्षालाई परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताए ।

रूपन्देही प्रमुख प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए ।