Newslaya Home

​पुर्वमा पहिलो पटक मरेको मान्छे माथि हाडजोर्नी सर्जरी वर्कशप

शनिबार २३, असार २०७५

धरान । पुर्वमा पहिलो पटक अर्थोपेडिक सर्जनहरुका लागि काडाबेरिक (मरेको मान्छे माथि) प्रत्यक्ष रुपमा सर्जरी गर्ने पद्दती बारे वर्कशपको आयोजना गरेको छ । वर्कशपले स्पाईनल सर्जरीमा विशेषज्ञ गर्न चाहने चिकित्सा क्षेत्रका विद्यार्थीहरुका लागि स्पाइन सर्जरी गर्न व्यवहारिक शिक्षा प्रदान गर्ने विश्वास लिएको छ ।

चिकित्सा क्षेत्रमा अर्थोपेडिक विषयमा एमडि तथा एमएस गरेका डाक्टरहरुमा स्पाईन इन्जुरीको सामान्य शिक्षा हुन्छ । अध्ययनका क्रममा अस्पतालमा उपचार गराउन आएका बिरामीहरुको सर्जरीको समय प्रभावकारी रुपमा व्यवहारिक शिक्षा लिन पाएका हुदैनन् ।

त्यसैले धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुर्वमै पहिलो पटक मरेको मान्छे माथि स्पाइलन कर्ड ईन्जुरी भएका बिरामीहरुलाई कसरी सर्जरी गर्ने भन्ने विषयमा व्यवहारिक शिक्षा प्रदान गरिने कार्यक्रमका संयोजक तथा प्रतिष्ठानका अर्थोपेडिक विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले बताए । उनले भने, ‘उपचारका लागि आएका बिरामीलाई सर्जरी गरेको समयमा धेरै सिक्ने मौका पाउँदैनन्, त्यसले काडाबेरिकमा सर्जरी गर्न सिकाउँदै सक्षम सर्जन बनाउन मद्धत मिल्नेछ ।’ 

प्रतिष्ठानको अर्थोपेडिक विभाग र एसोसियसन अफ स्पाइन सर्जन नेपालको संयुक्त आयोजनामा धरानमा भएको एक दिने वर्कशपमा पुर्वका विभिन्न अस्पतालहरुमा अध्ययन गर्दै आएका ३० जना अर्थोपेडिक डाक्टरहरुको उपस्थिती रहेको छ । स्पाइनमा विशेषज्ञता हासिल गर्न चाहने डाक्टरहरुले यसलाई अवसरका रुपमा लिएका छन् । 

भारतको वेस्ट बंगाल सहित काठमाण्डौका प्रोफेसरहरु सहितको टोलिले डाक्टरहरुलाई पद्धतीका बारेमा जानकारी गराएका छन् । दुई वटा काडाबेर (मरेको मान्छे) माथि सहभागिहरुले सर्जरीको अभ्यास गरेका थिए ।