Newslaya Home

युनिटिलाई ​बैकिङ कसुरमा सफाइ, ठगी मुद्धा भने जारी

सोमबार २५, असार २०७५

काठमाडौं । युनिटी लाइफ इन्टरनेसनलले गैह्रकानुनी वित्तीय कारोबार गरेको अभियोगमा सफाइ पाएको छ । कम्पनिका सबैले सफाइ पाएका छन् । तर उनीहरुमाथी ठगीको मुद्धा भने चलिरहेको छ । 

कम्पनी निर्माण गरी नेटवर्किङ मार्फत ठगी गरेको प्रकरणमा युनिटिका सञ्चालकहरु लामो समयदेखि मुद्धा खेपिरहेका छन् । 

यसअघि पनि इजाजतबिना बैकिङ र वित्तीय कार्यक्रम सञ्चालन गरेको प्रकरणमा जिल्ला अदालत ललितपुरले २०७० चैत १८ र उच्च अदालत पाटनले २०७४ कात्तिक २८ मा युनिटी कम्पनीका सञ्चालकहरुलाई सफाइ दिइसकेको थियो । 

सर्वोच्चले दुई तहको अदालतबाट सफाइ भएको भन्दै पुनरावेदनका लागि अनुमति नदिने फैसला सुनाएको हो । 

पिरामिड शैलीको नेटवर्किङ कारोबार गरी करिब ४ अर्ब रुपैयाँ संकलन गरेको तर उक्त कार्यका लागि नेपाल राष्ट्र बैंकबाट वित्तीय संस्था सञ्चालनको अनुमति नदिएको सरकारको दाबी थियो । 

जिल्ला अदालत लतिलपुरले युनिटी काण्डमा केही व्यक्तिलाई दोषी ठहर गर्नुका साथै यसलाई संगठित अपराधको रुपमा स्वीकार गर्दै सजाय हुने निर्णय सुनाएको थियो । अदालतले सञ्चालकहरुलाई जनही १ करोड ६ लाखका दरले जरिवाना र ३ वर्ष कैद हुने फैसला गरेको थियो ।

अदालतले युनिटीका सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई दोषी ठहर्‍याएको थियो ।

उक्त समयमा जिल्ला अदालतले राजस्व र इजाजतबिना कारोबार सञ्चालन गरेको अभियोगमा भने सफाइ दिएको थियो । 

जिल्लाको फैसला विरुद्ध युनिटी सञ्चालकहरु उच्च अदालत पुगेका थिए । उच्चले अधिकांशलाई सफाइ दिएपछि सरकारी पक्षले उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै २०७४ पुसमा सर्वोच्चमा निवेदन दर्ता गराएको थियो । उक्त ठगी मुद्दा सुनुवाइको पालो पर्खेर बसेको छ ।