Newslaya Home

श्रमिकको न्यूनतम तलब १३ हजार ४५०, प्रतिघण्टा ज्याला ६९ रुपैया

मङ्गलबार २६, असार २०७५

काठमाडौं । श्रमिकको न्यूनतम तलव तोकिएकोे छ । लामो रस्साकस्सीपछि श्रमिकले मासिक न्यूनतम १३ हजार ४५० रुपैयाँ पाउनुपर्ने गरि रकम तोकिएको हो ।
यसअघि ९ हजार ७ सय रुपैयाा रहेको न्यूनतम् पारिश्रमिकमा तीन हजार ७५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकले थप मासिक एक हजार ६९० रुपैयाँसमेत पाउनेछन् । यसअनुसार १५ हजार १४० बराबरको लाभ मजदुरलाई हुनेछ ।

तर यो ‘सहमतिमा कांग्रेससम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसले असहमति जनाएको छ ।  उसले न्यूनतम् तलब १७ हजार रुपैयाँ हुनुपर्ने, नभए सबै मजदुरको तलव हाल कायम रहेकोभन्दा ३७ सय ५० रुपैयाँ बढ्नुपर्ने माग गरेको छ ।

सुरुमा सहमति जनाए पनि हस्ताक्षरको समयमा ट्रेडयुनियन कांग्रेसले स्वीकार नगरेपछि मस्यौदा सिफारिस श्रम मन्त्री गोकर्ण बिष्टसम्म आइपुगेको छ । अब सरकारले त्यसैअनुरुप निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि साउनबाट यो पारिश्रमिक लागू हुनेछ ।

मुलुकभर लागू हुने नयाँ न्यूनतम पारिश्रमिकको आधारमा दैनिक ज्याला ५१७ रुपैयाँ र प्रति घण्टा ज्याला ६९ रुपैयाँ तोकिएको छ ।

श्रमिकहरूको सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा कोष कट्टी क्रमशः १० प्रतिशत, ८.३३ प्रतिशत र १.६७ प्रतिशत थप भई श्रमिक सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ । यसअनुसार मजदुरलाई अब १५ हजार १४० रुपैयाँ बराबरको मासिक लाभ मिल्नेछ ।

यसका अलाबा श्रमिकले पाउने चाडपर्व खर्च, बिदा वापतको भूक्तानी, सुत्केरी एवम् सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवम् दुर्घटना वीमा बापतको रकम समेतमा बृद्धि हुनेछ ।