Newslaya Home

पूर्वमा गाडीमा कालो सिसा वा प्लाष्टिक टाँस्नेलाई कारवाही, यस्तो छ कारण

मङ्गलबार २६, असार २०७५

विराटनगर । अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी दुरुपयोग गर्ने क्रम बढेको छ । 

साना चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले निगरानी थालेको छ । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालका अनुसार कालो सिसा र कालो स्टिकर टाँस्ने काम दुवै गर्न पाईँदैन ।

उनका अनुसार कालो सिसा लगाउने सवारी साधनलाई प्रहरीको सहयोगमा ट्राफिकले ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना गर्ने गरेको छ । 

कतिपयले आपराधिक उद्देश्यले कालो सीसा वा प्लाष्टिक लाउने गरेका छन् । धेरैजसोले नियम थाहा नभएको र घाम छल्नका लागि कालो सिसा लगाएको बताउने गरेको बताउने गरेका छन् । उनले भने, ‘कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको घटनाक्रमले देखाइसकेको छ ।’ 

भित्र अवैध सामान ओसारपसार, अपहरण, बलात्कार हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने हुन्छ । 

सर्वोच्च अदालतले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । पूर्वमा कालो सिसा लगाएर कुदाइएका १८ वटा निजी गाडी ट्राफिकको कारबाहीमा परेका छन् ।