Newslaya Home

​१ करोड ६० लाखको लगानीमा नमुना हिरासत बन्दै

मङ्गलबार २६, असार २०७५

धरान । धरान स्थित ईलाका प्रहरी कार्यालयको हिरासत कक्षमा क्षमता भन्दा बढी थुनुवा राख्नु पर्ने बाध्यता छ । साँघुरो हिरासत कक्षमा विभिन्न प्रकृतिका थुनुवाहरुलाई एकै स्थानमा राख्दा स्वास्थ्यको दृष्टिकोणले संक्रमण फैलिने डर रहेको छ । कोचिएर बस्नुपर्ने बाध्यतालाई हटाउन कार्यालय परिशरमा नमुना हिरासत निर्माणको अभियान शुरु भएको छ । 

करिब २ कट्ठा जमिनमा १ सय ६० जनाको क्षमता भएको दुई तले हिरासत भवन बन्ने भएको हो । करिब १ करोड ६० लाख रुपैयाको लागतमा निर्माण हुने भवनका लागि समाजसेवी मिन सुब्बाले संयोजकत्वमा १७ सदस्यीय ईप्रका हिरासत भवन निर्माण समिती समेत गठन भएको छ । 

समितीले १ वर्ष भित्रमा भवन निर्माण गरिसक्ने जनाएको छ । निर्माणाधिन भवनको भुई तलामा २० जना महिला थुनुवाहरुका लागि एउटा कोठा तयार गरिन्दैछ भने माथिल्लो तलामा पुरुष थुनुवाका लागि ३ वटा कोठा निर्माण गरिन लागिएको निर्माण समितीका सह सचिव उपेन्द्र चाम्लिङले बताए । उनका अनुसार असार १० गने निर्माण शुरु भएको भवन निर्माणका लागि धरानका विभिन्न व्यवसायी, संघसंस्थाहरुबाट ३५ लाख रुपैया रकम संकलन गरिसकेको छ । सुविधा सम्पन्न हिरासत कक्ष निर्माण भए पछि प्रकृति अनुसारका थुनुवाहरुलाई छुट्टा छुट्टै राख्न सकिने भएको छ ।
 
२०५८ सालमा ४० जना अभियुक्त राख्ने गरि बनाईएको ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा अहिले ९३ जना सम्म अभियुक्तहरु राख्नुपर्ने बाध्यता छ । महिलाहरुका लागि छुट्टै हिरासत कक्ष रहे पनि विभिन्न प्रकृतिका पुरुष अभियुक्तहरु एउटै कोठामा राखिन्छ । प्रकृति अनुसारका थुनुवाहरुलाई एउटै कोठामा राख्दा स्वास्थ्य संक्रमण बढ्ने खतरा रहेकाले वैकल्पिक हिरासत कक्ष निर्माण गर्नु परेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख रामेश्वर पौडेलले बताए ।
 
उनले भने, ‘पहिलो कारण भनेको थुनुवा बढ्दै गए हिरासतको क्षमता कम छ, अर्को भनेको कुनै थुनुवाहरु रोगि हुन्छन्, लागुपदार्थमा समातिएका थुनुवाहरुमा अधिकांश हेपाटाईटिस सि हुन्छ, यसले गर्दा राम्रै मान्छेमा पनि रोगका संक्रमणहरु फैलिन सक्छन्, त्यसैले प्रकृति अनुसारका थुनुवाहरुलाई अलग अलग कोठामा राख्नुपर्ने आवश्यक्ता छ ।’ थुनुवाहरुलाई सजाय होईन सुधार गर्नका लागि हिरासतमा राख्नुपर्ने भएकाले सुविधा सम्पन्न अवश्था तयार गरे सकारात्मक सोचको विकाश गर्न सकिने उनको भनाई छ । 
 
निर्माणाधिन भवनमा हिरासतकक्षमै टोईलेट बाथरुम, पानीको सुविधा, थुनुवा भेट्न आउनेहरुका लागि भवन परिषरमा पार्क समेत निर्माण गरिने भएको छ । प्रदेश नम्बर १ कै नमुना हिरासत बन्ने भवन निर्माण समितीका सहसचिव चाम्लिङको बताए ।