Newslaya Home

​काँग्रेस जगाउन जाग्यो विपी अध्ययन प्रतिष्ठान

विनय बाह्रकोटी
मङ्गलबार २६, असार २०७५

इटहरी । स्थानीय र प्रादेशिक र संघीय संसद्को निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली काँग्रेसले पुनर्जागरण कार्यक्रम गर्ने भएको छ । विपी कोइरालाको सम्झनामा खोलिएको विपी अध्ययन प्रतिष्ठानले काँग्रेस जागरण अभियान चलाउने भएको हो ।

विपी अध्ययन प्रतिष्ठान मोरङका सभापति रञ्जन ओझाले विपी कोइरालाको मार्गदर्शनलाई हरेक गाउँगाउँमा पुर्याइने बताए । कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको अवधारणालाई जनताले बुझ्ने भाषामा गाउँवस्तिसम्म पुर्याइने उनको भनाइ छ । 

नेपाली काँग्रेस निर्वाचनको मतपरिणाम बाट विचलित भएको भन्दै उनले कार्यकर्ताको विचलन र नेताहरूमा देखिएको स्वेच्छाचारी प्रवती हटाउने उनी बताउँछन् । नेताहरूमा आलोचना सहन गर्ने क्षमता ह्रास हुँदै जानु र आलोचना भन्दापनि अनावश्यक तारिफ सुन्नमा समय व्यतीत गर्ने भएकोले पनि काँग्रेसको यो अवस्था आइपरेको उनको भनाइछ ।

विपी अध्ययन प्रतिष्ठानका नव नियुक्त अध्यक्ष ओझाले काँग्रेस शुद्धिकरण अभियान नै चलाइने जानकारी दिए । 
त्यस्तै मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बुले काँग्रेस सुद्धीकरण अभियानमार्फत् कार्यकर्ताले खोजेजस्तो काँग्रेस बनाउन सकिने बताए । कार्यकर्तामा देखिएको उत्साहलाई नेतृत्वले बुझ्न नसक्दा धेरै मूल्य चुकाउनुपरेको भन्दै उनले अबको दिनमा नेतृत्वले त्यस्तो गल्ती नदोहोर्याउने लिम्बुको भनाई छ । 

काँग्रेसको केन्द्रीय नेतृत्वले एक भएर अगाडी बढ्ने कुनै पनि कार्यक्रम सार्वजनिक नगरिरहँदा विपी अध्ययन प्रतिष्ठानले भने योजनाबद्ध रूपमै काँग्रेस जागरण अभियान सञ्चालन गर्न लागेकोहो । पार्टी प्रशिक्षणको पुरानो परम्परालाई त्यागेर कार्यकर्ताको भावना बुझ्ने र त्यसै अनुसार काँग्रेसको आगामी योजना बनाइने अध्यक्ष ओझाको भनाइ छ ।
 
विभिन्न जिल्ला स्तरीय समिति नै बनाएर प्रतिष्ठानले जागरण अभियानलाई तीव्रता दिने तयारी गरिरहेको प्रतिष्ठानका केन्द्रीय सभापति धर्मेन्द्र नेम्वाङले जानकारी दिए । उनकाअनुसार काँग्रेसीले विपी कोइरालालाई भन्दा पद र पैसाको लोभमा फसेको कारण यस्तो अवस्था आएको हो । बाँकी दिनमा काँग्रेस के हो र यसको मर्म र भावनालाई विपीले कसरी चरितार्थ गरेका छन् भन्ने कुरा स्पष्ट पारिने उनको भनाइछ । 

उता प्रदेश नं १ का काँग्रेस प्रमुख सचेतक केदार कार्कीले काँग्रेस भोकको मातमा रहेको बताउँछन् । सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको अभावमा कार्यकर्ता छटपटीइरहेको र विपी प्रतिष्ठानले गर्ने भनिएका जागरण अभियानले काँग्रेसलाई पुनः एक पटक पुनर्जीवन दिने विश्वास व्यक्त गरे ।