Newslaya Home

भाँसियो नारायणगढ–मुग्लिन सडक

बुधबार २७, असार २०७५

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक सडक भाँसिएको छ । सडक भाँसिएपछि सवारी आवागमन एकतर्फी भएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सडक सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको जानकारी दिए । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ ।

भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेले भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने  बताए । 

अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ ।