Newslaya Home

​त्यो पनामा नहर, यो चतरा नहर

–नवराज बिष्ट
बुधबार २७, असार २०७५

केही समयअघि विश्व बजार र संचार क्षेत्रमा तहल्का मच्चाएको पनामा पेपर्स लिक प्रकरण र भर्खरै विश्वकपमा पनामाको सहभागिताले पनामाका बारेमा जानकारी राख्न थप प्रेरित गर्यो ।

यही जानकारी राख्ने सिलसिलामा गज्जबको कुरो जानकारीमा आयो ‘पनामा नहर’ (क्यानल डे पनामाँ) यो नहर एउटा मानव निर्मित जलमार्ग रहेछ । जसले प्रशान्त महासागर हुँदै अटलान्टिक महासागरलाई जोड्दो रहेछ । 


यो नहरको लम्बाई ८२ किमी रहेछ । चौडाइ ९० मिटर, गहिराई १२ मिटर रहेछ । संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा रहेको यो नहरबाट यात्रा गर्दा अमेरिकी र पश्चिमी तटबीचको दूरी १२ हजार ८७५ किमी घट्ने रहेछ । नहरको निर्माण १४ अगस्ट १९१४ मा पूरा भएको रहेछ । यो नहरलाई विश्वमा आधुनिक यान्त्रीकरणको उच्चतम नमुना मानिँदो रहेछ ।

पनामा नहरजस्तै कुरो गरौँ चतरा नहरको । सन् १९५४ मा कोसी सम्झौता भएपछि विश्व बैंकको चरणबद्ध सहयोगमा निर्माण गरिएको यो योजना सन् १९७२ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । 

मूल नहरको लम्बाइ ५३ किलोमिटर छ । जसका २१ शाखा छन् । ८ सुपर प्यासेज, ३६ एक्वाडक्ट, २ साइफन (पानी बाहिर निकाल्ने प्रणाली), १६ कन्ट्रोल क्रस रेगुलर छन् । शाखा नहरको लम्बाई ३ सय ३२ किलोमिटर छ । सहायक नहर २ सय २२ किमी लामा छन् । नहर प्रणालीको लम्बाई ८ सय २५ किलो मिटर छ । नहर पार गर्ने ३२ ओटा पुल छन् ।


सुनसरी मोरङ सिचाइ योजनाको नहर (चतरा नहर)ले सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नहरका दुई इन्टेक (बाँध) छन् । जसलाई ‘वल्ड इन्टेक’ र ‘न्युइन्टेक’ भन्ने गरिएको छ । 

भारतद्वारा नहर हस्तान्तरणको केही वर्षपछि कोशीको पानी पश्चिम फर्कँदा नहर सुख्खा भएको थियो । त्यसपछि १ हजार ३ सय मिटर उत्तरसम्म अन्डरग्राउन्ड नहर खनेर न्यु इन्टेक बनाइएको थियो । चतरा नहरमा पर्याप्त पानी हुँदा ६० देखि ६५ क्युसेकसम्म पुग्ने गरेको छ ।

कोशी समझौतामा भारतले नेपालको पानीमाथि नियन्त्रण गर्यो भनियो । तर सबैभन्दा ठूलो कुरो नेपालका नदीनालासँगै त्यहाँ भूराजनीति पनि भयो । नेपालका दीगो सम्भावनालाई जरैबाट उखेल्ने काम भयो । 

चतरा नहर निर्माण गर्दा यहाँको जलयातायातको प्रचुर सम्भावनालाई नेपाल पक्षले मनन गरेन भने भारतले त्यसो हुन दिएन । यी नहरमा निर्माण भएका ३२ ओटा नहर पार गर्ने पुललाई पानीको सतहसँगै टाँसियो त्यहाँ ओभरब्रिज बनाएर जलयातायातको सम्भावनालाई आत्मसात् गरिएन । 

ठूलाठूला साइफन बनाइयो, त्यसले झनै चतरा नहरको जलयातायातको सम्भावनालाई असम्भव बनाइदियो । अन्डरग्राउन्ड बनाइयो । यो नेपाली पानीको सम्भावना र दीगो विकासप्रति तात्कालीन शासकले दूरदृष्टि राख्न नसकेको दुखःदायी कृत्य हो । 

जबजब म चतराबाट, झुम्का, खनार हुँदै अघि बढ्छु, बगिरहेको नहर देख्छु तब नहरमा जलयातायातको कल्पना गर्छु । के यी सबै पुलको पुनर्निर्माण सरकारले गर्छ ? यी सबै साइफनको पुनर्निर्माण राज्यले गर्छ ?

पनामा नहरमा प्रतिवर्ष १३ देखि १४ हजार जहाज प्रवेश गर्छन् । हाम्रो चतरा नहर ??