Newslaya Home

​पुस सम्ममा जनकपुर–जयनगर रेल चल्ने

बुधबार २७, असार २०७५

काठमाडौं । रेलको डिब्बा भाडामा ल्याएर आगामी पुसदेखि जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा ल्याइने भएको छ । 

मंगलबार सम्पन्न भारत र नेपालका अधिकारीहरुको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको हो ।

भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार भने नेपालको रहने उपाध्यायले बताए । भारतले भाडामा उपलब्ध गराउने रेलको रङ नेपालले चाहे अनुसारकै हुने र रेलमा नेपालकै झण्डा समेत राखिने छ ।

रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैंले डिब्बा किन्ने तयारी छ । भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।

जनकपुर–जयनगर रेलमार्गमा लिक विछ्याइसकिएको छ । भाडामा ल्याउने रेल केही महिनाभित्रै नेपाल आइपुग्ने र डिसेम्बरदेखि सञ्चालन गरिने विभागले जनाएको छ ।

रेलमार्ग सञ्चालनका क्रममा केही कानुनी जटिलता समेत देखिन सक्ने भन्दै बैठकमा त्यस्ता समस्या आपसी छलफलबाट सुल्झाएर अघि बढ्ने सहमति भएको छ ।