Newslaya Home

दुर्व्र्यवहार भएको भन्दै सहभागिले छाडे सुनसरी आइडल, भद्रगोल व्यवस्थापनको आइडल विवादमा

- विनय बाह्रकोटी
बुधबार २७, असार २०७५

इटहरी । आफूमाथि अभद्र व्यवहार भएको भन्दै मिस सुनसरी नामक प्रतियोगिताका सहभागि केही युवतीहरुले प्रतियोगिता छाडेका छन् ।

आयोजक कम्पनी पल इन्टरटेन्टमेन्टका सञ्चालक अमित पौडेलले युवतीहरुलाई छोटा कपडा लगाएर जबरजस्ती एक्सपोज हुन लगाएको आरोप लागेको हो । उक्त कम्पनीले लेडि जेसिस इटहरीसँग मिलेर प्रतियोगिता आयोजना गरेका थियो । इटहरीमा विभिन्न समयमा यस्ता प्रतियोगिताहरु भएपनि यसरी एक्सपोजको दबाब दिएपछि सहभागिले प्रतियोगिता नै छाडेको यो पहिलो घटना हो । 

कम्पनीले गत जेठ २२ गते इटहरीमा अडिसन गरेको थियो । मुस्किलले तीन दर्जन युवतीहरु सहभागि भएकोमा १८ जनाले तालिम लिएका थिए । सो क्रममा काठमाडौबाट प्रशिक्षकहरु आएका थिए । ती युवतिहरुलाई इटहरी बैंक्वेटमा राखेर तालिम सञ्चालन गरिरहेको छ । 

सोही क्रममा युवतीहरुलाई भित्री बस्त्र देखिने गरी जबरजस्ती तस्वीर खिचाउन आग्रह गरेपछि केहि युवतिले तालिम नै छाडेको केही युवतीहरुले बताएका हुन् । ‘राम्रो होला भनेर क्षमता प्रदर्शन गर्न गएको तर शरीरका भित्री भागमात्र देखाउनुपर्ने रहेछ,’ बाहिरिएकी एक सहभागिले भनिन्र्,  केही प्रतियोगीको भित्री बस्त्रनै तानिदिने र केही लाई भित्री वस्त्रमा मात्र फोटो सुट गर्न लगाउने गर्छन् ।’ 

उनीहरुको गुनासो गरेको बाहिरिएपनि सार्वजनिक रुपमा उनीहरुले आरोप लगाउन सकेका छैनन् । ‘केही डरले र केही के हुने हो भनेर अन्योलको कारण बोल्न सकेका छैनन्,’ एक सहभागिले भनिन्, ‘तर मलाई चाहिँ सह्य भएन र निस्केँ ।’। सो क्रममा स्थानिय पार्टनर समेत बनेको लेडि जेसिसका पदाधिकारीलाई युवतीहरुले कम्प्लेनसमेत गरेका थिए ।

लेडी जेसिसका पदाधिकारीले पौडेललाई माफि माग्न लगाएको बताइएको छ । 

पौडेलले प्रति व्यक्ति जनही १६ हजार पैसा उठाएका छन् । तर तालिमको दौरान खाजासमेत नखुवाइएको र व्यवस्थापन नै भद्रगोल पाएको सहभागिहरुले गुनासो गरे । सोबाहेक आवश्यक लुगापनि सहभागि आफैले किन्नुपर्ने दबाब आयोजकले दिएको थियो । यस्तो प्रतियोगितामा आयोजकले लुगााको व्यवस्था गर्नुपर्ने भएपनि पल इन्टरटेन्टमेन्टले भने सहभागिलाई नै किन्न लगाएको हो ।

उता कम्पनिका संचालक पौडेलले भने युवतिलाई दुव्र्यवहार नगरीएको दावी गरेका छन् । युवतिहरुले पोशाक र फोटो सुटमा लाग्ने खर्च गर्न नसकेर आफैं प्रतियोगिता छाडेको जिकीर समेत गरेका छन् । 

कार्यक्रम आयोजकहरु सुरुवात देखि नै शुन्य तयारीमा कार्यक्रम गर्न हौसिएका थिए । ‘न प्रायोजक, न आर्थिक स्रोत,’ स्रोत भन्छ, ‘विना पैसा कार्यक्रम गर्न सकिन्छ झै गरेर लागिपरेका थिए ।’

भद्रगोल व्यवस्थापनका कारण धेरै सहभागि नआएको भएपनि आयोजकले सहभागिलाई आकर्षक पुरस्कार दिने आश्वासन दिएका थिए । आइडललाई स्कुटर र फस्र्ट रनरअपलाई एक लाख रुपैया दिने आश्वासन दिइएपनि आयोजकसँग त्यो हैसियत नभएको स्रोत बताउँछ ।

‘सुन्दरी प्रतियोगितालाई कमाउ धन्दा बनाउन कार्यक्रम गरेको देखिन्छ,’ स्रोत भन्छ, ‘न कुनै स्ट्याण्डर्ड, न अनुशासन, त्यसैले विवाद आयो ।’

बुधबार बेलुका आयोजकले पत्रकार सम्मेलन गरेर अनावश्यक प्रचार भएको भन्दै आपत्ती जनाएको छ । माफी मागेर आन्तरिक सहमती बनिसकेको अवस्थामा सञ्चार माध्यममा समाचार आएको भन्दै पलका सञ्चालक तथा लेडि जेसिजका सदस्यहरुले आक्रोससमेत पोखेका थिए ।

यस्तै केही सहभागिहरुले भने आफूहरुलाई अभद्र व्यवहार भएको पत्रकार सम्मेलनमै स्वीकार गरेका थिए । तर पछि यो फिल्डमा यस्तै हो भन्ने लागेपछि आफूहरु समझदारीमा आएको समेत केही युवतीले बताएका थिए । 

‘हो, हामीले कम्प्लेन गरेको हो,’ एक सहभागिले भने, ‘तर पछि यो फिल्डमा अलिकति ग्ल्यामर हुनुपर्छ भनेर चुप बस्यौं ।’ आयोजकले ग्ल्यामरस देखिनुपर्ने भन्दै सहभागिहरुलाई पुरानो प्रतियोगिताका तस्वीरहरु देखाएर दबाब दिएका थिए ।