Newslaya Home

बालमैत्री नगर घोषणा गर्दा अपाङ्ग बालबालिकालाई वेवास्ता

बुधबार २७, असार २०७५

धरान । बालमैत्री नगर घोषणा गर्दा सपाङ्ग र विद्यालय जाँदै गरेका बालबालिकाहरुलाई मात्र वास्ता गरिएको अभियन्ताहरुले गुनासो गरेकाछन् ।

अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गराउने गरी अभियान संचालन नभएको बालबालिकाको क्षेत्रमा अभियान चलाउने अभियन्ताहरुको गुनासो छ ।

धरानमा अपाङ्गता भएका बालबालिकाहरुका लागि स्थापना भएका पुनस्र्थापना केन्द्रहरुमा करिब दुई सय जना बालबालिकाहरु छन् । सबै खाले बालबालिकाहरुलाई सम्बोधन गर्ने किसिमको नीतिगत छलफल बिनै बालमैत्री नगर घोषणा गर्न थालिएको हो ।

सो विषयमा नगर स्तरीय छलफल हुन नसक्दा केही समस्या देखिएको राजनितिज्ञ चोत्लुङको भनाई छ । ‘बालबालिका भन्ने बित्तिकै सबै किसिमका बालबालिकाहरु पर्छन्, सबैलाई समेट्न आवश्यक छ,’ उनले भने, ‘सबैलाई समेट्दै लानुपर्छ ।’ 

बालमैत्री घोषणाको अभियानमा अपाङ्गता भएका बालबालिकाहरुको समस्या र उनीहरुको अधिकारलाई सुचक नबनाएको भन्दै आलोचना हुन थालेको छ । ‘अपाङ्गता भएका बालबालिकाहरुलाई नसमेटिकन बालमैत्री नगर बनाउन सकिदैन,’ अपाङ्ग पुर्नस्थापना केन्द्रका संचालक भिम राईले भने, ‘उनीहरुको आवश्यकता फरक हुन्छन्, अधिकार प्रत्याभुत हुने गरि मापदण्ड तयार गरिनुपर्छ ।’ 

२०७५ को चैत्र महिनासम्ममा धरानलाई बालमैत्री नगर घोषणा गर्ने तयारीमा छ । राज्यले तोकेको ३९ वटा सुचक अनुसार बालमैत्री नगर घोषणा गरिएको उपमहानगरपालिकाले दाबी गरेको छ । 

अपाङ्गता भएका बालबालिकाहरुको हकमा प्रकृतिका आधारमा निति निर्माणमा फरक पर्न सक्ने उपमहागनगरपालिकाले जनाएको छ । सामाजिक विकास अधिकृत गणेशप्रसाद खतिवडाले घोषणा भएका वडाहरुमा अपाङ्गता भएका बालबालिकाहरुको समस्या नदेखिएकाले सुचक पुरा भएको बताए । उनले अपाङ्गता भएका बालबालिकाहरुको प्रकृति अनुसारको व्यवस्थापनमा ध्यान दिईने बताए ।  

बाल अधिकारको पुर्ण रुपमा कार्यान्वयन गर्नु नै बालमैत्री नगर बन्नु हो तर धरानमा अपाङ्गता भएका बालबालिकाहरु अझैपनि उचित स्वास्थ्य सेवा, गाँस, बाँस कपासबाट वञ्चित छन् । विभिन्न सामाजिक व्यक्तित्वहरुको सहयोगमा संचालित पुर्नस्थापना गृहमा आश्रित हुन बाध्य छन् ।