Newslaya Home

​विराटनगरबाट सञ्चालन हुने इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा जडान हुने

बिहीबार २८, असार २०७५

विराटनगर । नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालयबाट सञ्चालन हुने इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ । 

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात गर्दा र नेपालको आन्तरिक वितरणका क्रममा बाटैमा इन्धन चुहावटको समस्या बढेपछि निगमले आईओसीसँगकै सहकार्यमा आधुनिक ताल्चा प्रणाली लागू गरेको हो । 

विराटनगरमा शनिबार औपचारिक कार्यक्रम आयोजना गरेर ताल्चा प्रणालीको आरम्भ गर्ने तयारी गरीएको जनाइएको छ ।

करीब ३२० इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा लाग्नेछ । करिब ९५ प्रतिशत ट्याङ्कर ताल्चा लगाउन तयारी भइसकेको क्षेत्रीय कार्यालय विराटनगरका प्रवन्धक तथा इन्जिनियर भरत रेग्मीले जानकारी दिएका छन् ।

आधुनिक ताल्चा प्रणालीमा गइसकेपछि साउन १ गतेदेखि त्यसलाई कडाइ पूर्वक कार्यान्वयनमा ल्याउने रेग्मीले बताए । १ गतेपछि ताल्चा प्रणालीमा नजाने ट्याङ्करको ढुवानी रोकिने छ । 

पूर्वमा चैत्र महिनामा ९० ओटा ट्याङ्करमा लकिङ सिस्टम प्रचलनमा ल्याइसकिएको छ । ती ट्याङ्करहरूले अहिले भारतको सिलिगुढीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।