Newslaya Home

कोशी कटान बन्दैछ पर्यटकीय क्षेत्र

बिहीबार २८, असार २०७५

इनरुवा । गर्मि याममा सबैजसोको स्विमिङ स्थल बन्ने गरेको महेन्द्रराजमार्ग अन्तर्गतको कोशी कटान क्षेत्रलाई कोशी गाउँपालिकाको कार्यालयले पर्यटकिय क्षेत्रका रुपमा अघि सारेको छ । विशेष योजनाका साथ यतिबेला सो स्थानमा बाटो चौडा पार्ने मात्र नभएर ट्युबेल, शौचालय निर्माण जस्ता काम भइरहेका छन् । गाउँपालिकाको कार्यालयले रात्रिकालिन प्रकाशका लागि पोलमा भ्यापर लाइटको व्यवस्था मिलाइरहेको छ ।

पहिले लागुऔषध कारोबारीको ट्रान्जिट पोइन्ट समेत रहेको यस क्षेत्रमा विभिन्न ठाउँबाट पर्यटकहरु आउन थालेपछि सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै सिपेच एरियाको चारैतर्फ ५ वटा सिसि क्यामेरा जडान गरिएका छन् । उक्त क्षेत्रमा सुरक्षाकर्मी सहित ट्राफिक प्रहरीले हाल नियमित चेकजाँच थालेको छ ।

ट्राफिक व्यवस्थापन सहित सुरक्षा चेकजाँचका लागि ट्राफिक प्रहरीका असई प्रहरी सहायक निरिक्षक धनबहादुर भण्डारीको कमाण्डमा ६ जनाको जनशक्ति परिचालन गरिएको छ ।

नेपाल प्रहरीका हवल्दार सोमनारायण श्रेष्ठ सहित तीन जना प्रहरी तत्कालका लागि २४ सै घण्टा रहने गरी खटाइएको छ । दुर्घटना न्यूनिकरणका लागि लामो दुरीका सवारीसाधनलाई रोकेर रिफ्रेसमेन्ट कक्षा समेत सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी पोष्ट कोशी कटानले जनाएको छ ।

गाउँपालिका अध्यक्ष एयुब अन्सारीका अनुसार लागुऔषध एरियाका रुपमा चिनिने सिपेच एरियामा आमूल परिवर्तन आएको बताए । सडक छेउका पसल तथा टहरा हटाएर व्यवस्थित पार्किङ सहितको पर्यटकिय क्षेत्रको अभियानलाई अघि बढाइएकाले एकमहिना भित्रै सबै काम पुरा गरिने अन्सारीको भनाई छ । 

गर्मि याममा सबैजसोको स्विमिङ स्थल बन्ने गरेको सिपेचको पानीमा सबैले सुरक्षित साथ नुहाउन मिल्ने गरीको उचित व्यवस्थापन, प्रतिक्षालय, लुगा फेर्ने स्थान, शौचालय निर्माणकासाथै खानेपानीको बन्दोवस्ती र व्यवस्थित होटल निर्माण गर्ने गरी कार्य थालिएको अध्यक्ष अन्सारीले जानकारी दिए ।