Newslaya Home

​जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ९९ पुग्यो

बिहीबार २८, असार २०७५

काठमाडौं । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा एक सय ९९ जनाको मृत्यु भएको छ । 

जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानकारी दिएका हुन् । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या एक सय ९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ । 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । 

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् ।