Newslaya Home

​प्राकृतिक विपत्ति आउन सक्ने भन्दै हड्ताल नगर्न स्वास्थ्यकर्मीलाई सरकारको आग्रह

बिहीबार २८, असार २०७५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई विदामा नबस्न आग्रह गरेको छ । देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रीले आग्रह गरेको हो । 

‘यो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा स्वास्थ्यकर्मीहरुलाई कामकाज गर्न, विदामा नबस्न आग्रह गरेको हो । 
यस्तै कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न नगराउनसमेत अनुरोध छ’ स्वास्थ्य मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

पत्रको आग्रह विपरीत गर्नेलाई कारबाही गर्ने पनि परिपत्रमा उल्लेख गरेको छ । 

मेडिकल सुधारको लागि भन्दै डा. गोविन्द केसी अनसनमा बसिरहेको समयमा चिकित्सकहरुले डा. केसीको मागमा सुनुवाई गर्नुपर्ने भन्दै दबाब दिन काम ठप्प पार्ने चेतावनी दिएका थिए । सोही चेतावनीपछि सरकारले बाढी र प्रकोपलाई देखाउँदै स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको अनुमान गरिएको छ ।