Newslaya Home

​सरकारी शिक्षकको मिटर ब्याज धन्दा, धितोमा राखेको जग्गा कब्जा

- विनय बाह्रकोटी
बिहीबार २८, असार २०७५

इटहरी । इटहरी २० जनसहयोग उच्च माविका शिक्षक इन्द्रराज बस्नेतले धितो पास गरी महँगो मिटर ब्याजमा रकम लगाउँदै आएको पाइएको छ । धितो पास गरेको जग्गा कब्जा गरेको भन्दै पीडितहरुले पत्रकार सम्मेलन नै गरेका छन् ।

धरानकी प्रभा सुब्बाको नाममा झापाको धरमपुरमा रहेको ९ क ९५ कित्ता नम्बरको जग्गा बस्नेतले धितोमा पास गरेर लिएका थिए । तर अहिले पैसा फिर्ता गर्छु, जग्गा फिर्ता देऊ भन्दा पनि नमानेको पीडितको आरोप छ । 

सुरुमा प्रभा लिम्बुले तरहराकै गीता चौधरीलेसँग जग्गा धितोमा राखेकी थिइन् । पछि चौधरीले बस्नेतलाई पुनः धितो पास गरिन् ।

हाल आएर बस्नेतले जग्गा फिर्ता गर्न नमानेको चौधरीको गुनासो छ ।  पहिलादेखि आर्थिक कारोबार गदै आएको र विश्वासको भरमा जग्गा दिएको चौधरीको भनाइछ । 

७ लाखमा धितोपास गरी लिएकोमध्ये ८० हजार ब्याज र २ लाख सावा दिन बाँकी रहे पनि अहिले जग्गा फिर्ता गर्ने नमानेको चौधरी बताउँछिन् । सुब्बाले तरहराकै गोपी चौधरी र गीता चौधरीबाट ७ लाख रकममा उक्त जग्गा धितो पास गरेका थिए । सोही जग्गा चौधरी परिवारले शिक्षक बस्नेतसँग ७ लाख लिएर धितोमा राखेका हुन् । 

गत जेष्ठ महिनामा मात्र ५ लाख रुपैयाँ बस्नेतलाई बुझाएको र अब सावा २ लाख र ब्याज ८० हजार तिर्ने बाँकी रहेको चौधरीको भनाइछ । तर बाकी पैसा लिएर जग्गा छाडिदिन आग्रह गर्दा कानुनले जे गर्छ त्यो गर मैले सबै जग्गा पास गरेकोहो भन्दै धम्क्याउँने गरेको उनले सुनाइन् । 

‘मैले ब्याज मात्र करिब ७ लाखभन्दा बढी तिरिसकेँ अहिले अर्काको जग्गा फिर्ता गर्ने बेलामा बस्नेतले गद्दार गरे, म न्याय माग्न कहाँ जाऊँ ?’ उनी भन्छीन्, ‘मसँग गरेको कागज पनि बस्नेतले नै लगेको कारण हामी बर्बाद भयौं ।’ 

यता जग्गा धनी सुब्बा र उनी दिदी दिलकुमारी सुब्बाले पनि आफ्नो जग्गा शिक्षक बस्नेतले गद्दार गरेको बताएका छन् । जग्गा आफ्नो भएको तर शिक्षक बस्नेतले पचाउन खोजिरहेको बताएका छन् । आफूले गोपी र गीता चौधरीलाई दिएको जग्गा अहिले बस्नेतको नाममा रहेको भन्दै विना सर्त आफ्नो जग्गा फिर्ता हुनुपर्ने सुब्बाको भनाइ छ ।

 'बस्नेतले जग्गामा गद्दार गरेको भन्दै ब्याज र साँवा तिरेपछि मैले मेरो जग्गा पाउनुपर्छ,’ उनी भन्छिन्, ‘२०६८ सालमा जग्गा राख्दा एक लाख रुपैयाँ कट्ठा थियो अहिले बढेर करिब ३ लाख रुपैया प्रति कट्ठा जग्गा बिक्री हुन्छ ।’ 

यता इटहरी १ का वडा अध्यक्ष विष्णु चौधरीले पनि धितो पास गरेकै भरमा बस्नेतले जग्गा हडप्न खोजेको आरोप लगाएका छन् । आफूहरूले जग्गाको विषयमा पटक पटक छलफल गराए पनि बस्नेत सहमतिमा नआउने गरेको उनी बताउँछन् । 

जग्गा धितो पास गर्दा स्वयम् विष्णु चौधरी र बाबुराम गजमेर साक्षी बसेका थिए । धितो मात्र पास गर्ने पैसा फुपूको भएको भन्दै बस्नेतले उल्टै ३५ हजार कमिसन लगेको गजमेरको भनाइ छ । 

यता बस्नेतले भने आफूलाई लगाएको आरोप झुटो भएको बताउँछन् । २०६९ सालमा किनेको जग्गा अहिले मूल्य बढेको कारण लोभ लागेर आफू माथि अनेक आरोप लगाउन खोजेको उनको भनाइछ ।