Newslaya Home

​बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले मागे माफी

सोमबार ०७, साउन २०७५

झापा ।  बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरूबारे आफूले बोलेको कुरालाई सञ्चारमाध्यमले तोडमोड गरेको आरोप लगाएका छन् ।  

उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको गुनासो गरेका छन् । उनले बंगलादेशमा पढ्न जाने जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणबारे दिएको अभिब्यक्तिलाई हाल आएर तोडमोड गरिएको आरोप लगाएका छन् ।

उनले आफ्नो भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर गरेका छन् । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुने मेरो आशय थियो’, उनले बताएका छन् ।

उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षम मागेका छन् ।  ‘मेरो अभिव्यक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नभएको यसले पर्न गएको असरप्रति क्षमा माग्न चाहान्छु ।’ यही बिषयबारे बोल्दा कानुन मन्त्री शेरबहादुर तामाङले आइतवार माफी मागेका थिए ।