Newslaya Home

​अझै रोकिएन झापामा हात्ती आतंक

सोमबार ०४, भदौ २०७५

दमक  । झापाको उत्तरी क्षेत्रका बासिन्दाले लगातार हात्तीको आक्रमण झेल्दै आएका छन्। उनीहरूले तीनै तहका सरकारसँग यसलाई दिगो रूपमा समाधान गर्नसमेत माग गरेका छन्। 

जंगल नजिकै रहेका बस्तीमा दिनहुँजसो हात्तीले दुःख दिएको भन्दै उनीहरूले समस्याको समाधान गर्न माग गरेका छन्। 

आइतबार राती पनि कमल गाउँँपालिका–५ स्थित गुह्येश्वरी बस्तीमा हात्तीको बथान नै प्रवेश गरी विभिन्न क्षति पुर्‍याएको छ। हात्तीले स्थानीय स्थानीय मदन कार्कीको घरमा क्षति पुर्‍याएको छ। नजिकैको वन क्षेत्रबाट आउने जंगली हात्तीले यस क्षेत्रमा बारम्बार नोक्सानी गर्ने गरेको वडा अध्यक्ष डम्बरबहादुर निरौलाले बताए। 

केही वर्षअघिसम्म झापाको पूर्वोत्तर क्षेत्रमा जंगली हात्तीले बढी नोक्सानी गर्ने गरेको थियो तर भारतबाट हात्ती प्रवेश स्थानमा सोलार फेन्सिङ जडान गरिएपछि ती स्थानमा हात्तीले पुर्‍याउने क्षतिमा कमी आएको छ। 

दमक २ र ३ मा पटक पटक हात्तीले नोक्सानी पुर्‍याउने गरेको छ। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा रहने हात्तीसमेत बस्तीमा प्रवेश गरेर नोक्सानी गर्ने गरेको स्थानीय गणेशकुमार चाम्लिङले बताए।