Newslaya Home

​इटहरी स्पोर्ट सिटी चाँडै : उपमेयर, इटहरी

शुक्रबार ०५, असोज २०७५

इटहरी । इटहरीलाई स्पोर्टस् सिटि घोषणा गर्न लागिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् ।

सुनसरीको इटहरीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले इटहरीलाई स्पोर्टस् सिटिको रुपमा चाँडै घोषणा गर्न लागिएको बताएकी हुन् ।

शुक्रबार आयोजित नेपाल तेक्वाण्दो सङ्घ प्रदेश एकको छनोट प्रतियोगिताको उद्घाटन समारोहमा उनले यस्तो कुरा बताएकी हुन् । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टसमेत सक्रिय भएर लागिपरेको समयमा इटहरी उपमहानगरपालिकालेसमेत इटहरीलाई स्पोर्टस् सिटि बनाउने दिशामा अघि बढेको गौतमले जानकारी दिइन् ।

समारोहमा विशिष्ठ अथितिको रुपमा उपस्थित इटहरी उपमहानगरपालिकाकी उपमेयर गौतमले केहि दिनभित्रै इटहरीलाई खेलकुदको सहरको रुपमा घोषणा गर्ने जानकारी दिइन् । 

शुक्रबार उद्घाटन गरिएको तेक्वान्दोको छनोटको लागि प्रदेश नम्बर १ अन्तर्गत १२ वटा जिल्लाका २३० जना खेलाडी समावेश छन् । प्रतियोगितामा भोजपुर र ताप्लेजुङ जिल्ला समावेश छैनन् । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाल तेक्वाण्दो सङ्घ प्रदेश एकका अध्यक्ष शैलेश विष्टलाई खेल सामाग्री दिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

राखेपका सदस्य सचिव विष्टलेसमेत इटहरीलाई खेल सिटीको रुपमा विकास गर्नका निमित्त सम्पुर्ण पुर्वाधार निर्माण भइरहेको बताए । उनले स्पोर्टस् सिटीको रुपमा घोषणा गरे खेलकुदको केन्द«बिन्दुको रुपमा इटहरी विकास हुने बताए ।

शुक्रबारदेखि सुरु भएको कार्यक्रम शनिबारसम्म चल्नेछ ।