Newslaya Home

​'नगरवासी सचेत भएकोले नै दमकमा फोहोर व्यवस्थापन सफल'

मङ्गलबार १६, असोज २०७५

दमक नगरपालिकालाई फोहोर व्यवस्थापनको लागि पुर्वमै उदाहरणिय नगर मानिन्छ । चार वर्षदेखि यहाँको फोहोर व्यवस्थापनको जिम्मा पाथवे ग्रीनलिंक प्रालिकी कम्पनिले लिएको छ । दमकमा फोहोर व्यवस्थापन कसरी भैरहेको छ भन्ने विषयमा कम्पनिकी  अध्यक्ष निरु चौधरीसंग गरिएको कुराकानी :

दमक नगरपालिकाले फोहोर व्यवस्थापन कसरी गरिरहेको छ ?
राज्यको नीति प्रक्रिया अनुसार नै फोहोर मैला व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा २०७२ सालदेखि गर्दै आएको छ ।

अन्य नगरपालिकाभन्दा दमक नगरपालिका फोहोर व्यवस्थापनमा सफल छ भनेर चर्चामा आइरहेको छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
दमकका नागरिकहरुमा फोहोर बाटोमा लगेर फाल्न हुँदैन, सरसफाइको लागि सवारी साधन आउँछ त्यसमै फोहोर हाल्नु पर्छ भन्ने चेतनाको विकास भएको छ । यदि फोहोर फालिहाले पनि फोहोर फालिएको ठाउँहरुको जनताले नै यहाँ फोहोर फाल्न हुँदैन भनेर आफै नै जागरुक भइहाल्छन् ।  यो जागरणका कारण दमकले फोहोर व्यवस्थापनमा सफलता हात पारेको हो ।

कति टन फोहोर निस्कन्छ दमकमा दैनिक ?
करिब २५ टन फोहोर निस्कन्छ । गर्मि महिनामा अलिक बढि फोहोर निस्किन्छ भने जाडो महिनामा अलिक कम निस्किन्छ । 

उठेको फोहोरलाई के गर्नु हुन्छ ? 
त्यो फोहोरलाई केहि चाहि कबाडीको रुपमा छान्ने गरेका छौ । र छानेको कबाडीलाई चाहि बेच्ने र बाँकीलाई चाहि डम्पिङ गर्ने गरेका छौं । हाम्रो डम्पिङ साइड दमकबाट ९ किलोमिटर टाढा रहेको छ । र त्यो फोहोरलाई खोलाको छेउमा ड्याम्पको रुपमा प्रयोग गरिरहेका छौं ।

फोहोरलाई जलाउने वा गाड्ने भन्दा पनि उर्जा उत्पादनमा प्रयोग गर्ने र आम्दानीको स्रोत बनाउने कुनै योजना छैन ? 
वैकल्पिक उर्जा प्रवद्र्धन बोर्डले दमकमा केहि समय अगाडी सम्झौता गरेको छ । यहाँको फोहोरलाई उर्जाको रुपमा हामि प्रवर्द्धन गर्छौं भनेर दमक नगरपालिकासँग एक प्रकारको सम्झौता पनि गरेको छ ।

तत्कालको लागि सड्ने र सुख्खा खालका फोहोरलाई छुट्याएर गल्ने फोहोरलाई मल बनाउने र त्यो मल यहि नगरमा हरित नगर बनाउन प्रयोग गर्ने तयारीमा छौं । यो चाहि निजी क्षेत्र र नगरपालिकाको सहकार्यमा नै हुन्छ ।  तत्काल चाहि मेशिन ल्याउने वा लगानी गर्नभन्दा पनि गड्यौले मल र यसलाई कसरी कम्पोस्टीङ गर्न सकिन्छ भन्ने तर्फ लागेका छौं ।

घरबाटै फोहोर निस्किन कम भयो भने सरसफाइको काम अलिक प्रभावकारी होला कि, कुनै उपाय अपनाउनु भएको छ ?
सकेसम्म फोहोरलाई घर घर मै घटाउने भन्ने हाम्रो अभियान नै चलिरहेको छ । घरबाट निस्कने किचन वेस्टलाई बारीमा प्रयोग गर्ने मल कसरी बनाउने भनेर एक किसिमको अभियान सञ्चालन भएको छ भने हामिले फालेका सामग्रीहरु जुन छन्, ती सामाग्रीबाट हामिले आम्दानी पनि गर्न सक्ने रहेछौं, त्यसको लागि हामिले जाँगर पनि चलाउनु पर्दछ भनेर बुझाइरहेका छौं । 

घरको फोहोरलाई हामिले जम्मा गरेर राखेर धेरै भएपछि यस्ता सामाग्री  खरिद गर्छौं भनेर दमक नगरपालिकाले भदौ बाट आह्वान पनि गरेको छ । र दशैँ पछाडि यसलाई तिव्र रुपमा लाने योजना बनाएका छौं ।

नगरवासीबाट कति रकम उठाउनुहुन्छ ? नगरपालिकाले कति रकम दिन्छ ?
नगरपालिका र हाम्रो सम्झौता अनुसार तलाको ५० रुपैया छ । त्यस्तै पसलहरुलाई ५०, ६० रुपैया लिने गरेका छौ । फोहोरको प्रकृती हेरेर पनि शुल्क निर्धारण गरेका छौं । हामिलाई नगरपालिकाले ४ लाख ३० हजार रुपैया तिरिरहेको छ ।

कति जनाले नियमित रकम बुझाउनु हुन्छ ? 
दमकमा बजारभरी करिब ६ हजार उपभोक्ताले निरन्तर रुपमा हामिलाई शुल्क बुझाइ रहेका छन् ।
यसमा चाहि अलि बढी पसल नै छन् । र टोल विकास संस्थामा चाहि माग अनुसार आफ्नो कार्य क्षेत्रलाई विस्तार गर्ने क्रममा छौं ।

फोहोर उठाउने गाडी सबै वडामा जान्छ ?
सबै वडामा चाहि जाँदैन । करिब ६ वटा वडामा हामिले सेवा दिएका छौं । जनताको माग र उनिहरुसँगको छलफल पश्चात हामिले सेवा दिने गरेका छौं ।

पैसा तिर्न नगरवासीले कत्तिको आनाकानी गर्छन् ? अक्सर ठाउँमा फोहोर उठाउने कम्पनिको आलोचना गरेको सुनिन्छ, लापरवाही भो भनेर विरोध गर्ने गरिन्छ, यहाँ त्यस्तो समस्या छ कि छैन ?
चुनावको बेला चुनावी माहोलले गर्दा थोरै बिग्रिन्छ । अर्को स्थानीय सरकार आइसके पछि सित्तैमा फोहोर उठ्ने हो कि भनेर थोरै बाधा उत्पन्न भएको थियो । कर वृद्धिको कारण पनि हामिले करको पैसा तिरेका छौं, हामिले यसको पैसा किन तिर्ने भन्ने कुराहरु चाहिं आउँछन् । तर अहिले दमकका नगरवासीले फोहोर व्यवस्थापनलाई तिर्ने पैसा हामिले सेवा लिएवापत तिर्ने पैसा हो भनेर लगभगले बुझिसकेका छन् ।

भनेपछि पैसा उठाउनलाई त्यति धेरै समस्या चाहि छैन ? 
सुरुको दिनमा चाहि निकै नै धेरै समस्या थियो तर अहिले हाम्रो व्यवस्थापन धान्नलाई चाहि त्यति गाह्रो छैन ।

तपाईहरुको पुर्वाधार, जनशक्ति र फोहोर ओसार्ने गाडीहरु कति छन् ?
हामि जम्मा ५२ जना छौं । यहाँ हाम्रो ५ वटा गाडी छ । ३ वटा रिक्सा भेन छ । 

यहाँहरुले नगरपालिकासँग खोजे अनुसारको सर्पोट पाइरहनु भएको छ ?
यहाँको नगरपालिकाले हामिलाई सहयोग गरिरहेको छ । यो नगरलाई एउटा पहिचानको रुपमा नेपाल अधिराज्य वा संसार भरी चिनाउनु पर्छ र फोहोर मैला व्यवस्थापन नै मुख्य कुरो हो भनेर सुरुबाट नै लागि परेको छ । र यहाँको जनप्रतिनिधि भएर आइसकेपछि सर्वप्रथम यहाँको फोहोर व्यवस्थापनको काम नै पहिलो पटक गर्नुभयो ।

अन्तिममा के भन्न चाहनु हुन्छ ?
नगरवासीलाई फोहोर व्यवस्थापनमा यहाहरुको सहयोग र सुझाव कायम रहोस् भन्न चाहन्छु ।