Newslaya Home

सात बंगलादेशीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

सोमबार २२, असोज २०७५

काठमाडौं । गृह मन्त्रालयले अवैध रुपमा नेपालमा बस्दै आएका ७ बंगलादेशीलाई एक वर्षका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। 

राहदानी र भिसा बिना शंकास्पद ढंगले नेपाल बस्दै आएका ७ जनालाई अध्यागमन विभागले शुक्रबार निस्कासन गरेको हो। अवैध ढंगले बसेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो।

उनीहरूलाई मानव तस्करले नेपालमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा काठमाडौं ल्याएको अनुसन्धानमा खुलेको थियो । 

नेपालस्थित बंगलादेश दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि विभागले भिसा नियमित गरी निस्कासन गरेको हो। 

तस्करहरूले संगठित रूपमा भारतको कोलकाता हुँदै बंगलादेशीलाई काठमाडौं ल्याउने गरेका छन्। बयानमा क्रममा उनीहरूले बंगलादेशी नागरिक इस्माइल नुर नामका बंगलादेशीले नै राम्रो काम पाउने भन्दै ल्याएको बताएका थिए।