Newslaya Home

​चाडबाँड नजिकिदै गर्दा हरियो तरकारीको कारोबार उच्च

बुधबार २४, असोज २०७५

धरान । चाडबाँड नजिकिदै गर्दा धरान स्थित कृषि उपज बजार स्थलमा हरियो तरकारीको कारोबार उच्च भएको छ । 

कोशी पहाडी जिल्लाहरुमा उत्पादन भएका हरियो तरकारीको कारोबार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भएको बजारको तथ्याङकले देखाएको छ । बजारका अनुसार सोह्रश्राद्ध शुरु भए संगै हरियो तरकारीको कारोबार बढेको हो । बजारका अनुसार असोज १ गते देखि १५ गते सम्ममा १३ हजार २० मेट्रिक टन हरियो तरकारी खपत हुँदा २६ करोड २१ लाख रुपैयाको कारोबार भएको छ । 

अघिल्लो वर्षको असोज महिनामा २७ हजार १३ मेट्रिक टन खपत हुँदा ४८ करोड ६२ लाख रुपैयाको कारोबार भएको थियो । सोही अनुपातमा यस वर्षको कारोबार करिब २५ प्रतिशतले वृद्धि हुने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।  

कोशी पहाडी जिल्लामा उत्पादन भएका फुलकोपी, ईस्कुस, मुला, गाजर लगायतका हरियो तरकारीले उच्च मुल्य पाएको भट्टराईले बताए । उनका अनुसार दैनिक जसो २० पिकअप भ्यानमा हरियो तरकारी देशका अन्य जिल्ला सहित भारतका बजारहरुमा जाने गरेका छन् । चाडबाँड पर्वलाई लक्षित गरेर कृषकहरुले लगाएको बालीले उच्च मुल्य पाउने गरे पनि व्यापारीहरुलाई बढी फाईदा हुने गरेको उनको भनाई छ । 

व्यापारीको हातमा मुल्य नियन्त्रण भएकाले कृषकहरुले मुल्य उच्च भए पनि नाफा नपाउने गरेको उनको भनाई छ । उनले भने, ‘गत वर्षको तुलनामा ५० प्रतिशत भन्दा बढी नाफा आयो भने ३५ प्रतिशत सम्म व्यवसायीले पाउँछन्, १५ प्रतिशत नाफामा कृषकले चित्त बुझाउनु पर्छ ।’ राज्यको व्यवस्था किसानमैत्री नभएकाले किसानहरुले आफ्नो उत्पादनको मुल्य नपाएको उनी बताउँछन् ।