Newslaya Home

विकृती फैलाउने मेला लगाउने अनुमति नदिन माग

शुक्रबार २६, असोज २०७५

धरान । तीन वर्ष अघि सम्म धरानमा वर्षेनी मनोरञ्जनात्मक मेला लगाईने गरिन्थ्यो तर कुनै पनि मेला झगडा रहित बन्न सकेको थिएन् । तसर्थ मेला लगाउन नै बन्द गरियो । 

मेलामा जुवाजन्य खेल, महंगो मुल्यमा खेलतमाशा संचालन गर्न आयोजकले राजनितिक पार्टी देखि गुण्डाहरुलाई पैसाको भागबण्डा लगाउनु पथ्र्यो । त्यही भागबण्डामा नमिल्दा दैनिक जसो झगडा हुन थाले पछि मेला नै बन्द गरिएको थियो । 

स्थानीय निकायमा जनप्रतिनिधिहरु आए पछि मेलाको बहस शुरु भयो । तथापि अघिल्लो वर्ष निजी क्षेत्रलाई मेला लगाउने अनुमती दिए पनि स्वस्थ्य मेला लाग्न सकेन । स्थानीय सरकारको आलोचना खेप्नु परेको थियो । 

यस वर्ष पनि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले मेला लगाउन दिईने निर्णय गरेको छ । असोज २५ गते भएको कार्यपालिका बैठकले धरान १२ स्थित पब्लीक उच्च माविको खेलमैदानमा स्थानीय छिमेकी युवा क्लबलाई मेला लगाउन दिईने निर्णय गरेको हो । निर्णय सार्वजनिक भए संगै मेला लगाउन नहुने भन्दै विरोध शुरु भएको छ । 

दशै तिहारको बहानामा लगाइने उच्श्रृङखल मेलामा युवाहरु बिच बैमनश्यता उत्पन्न गराउने र शान्ति सुरक्षामा खलल पुग्ने भएकाले मेला लगाउने निर्णय फिर्ता लिन नेपाली कांग्रेस धरान नगर समितीले आग्रह गरेको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले उद्देश्य विहिन अमुक संस्थालाई मेला लगाउन दिँदा युवा जमातको मनोविज्ञानमा असर पर्ने भएकाले मेला लगाउन नहुने दाबी गरेको छ । पत्रकार सम्मेलनमा कांग्रेस नगर सभापती तिलक राईले स्थानीय सरकार नीतिगत भ्रष्टाचारी उन्मुख रहेको आरोप लगाए । उनले भने, ‘आर्थिक लेन्देन गरेर युवा, स्थानीय बिच द्वेष फैलाउने कार्यको घोर आपत्ति गर्दछौं, त्यसैलाई मेला लगाउने निर्णय खारेज हुनुपर्छ ।’

स्वास्थ्य मनोरञ्जन, सस्तो बजारको मेला लगाउन अवरोध गरेको नभई नीतिगत भ्रष्ट्राचार गर्नका लागि मेला हुन लागेकोले विरोध गरिएको उनको भनाई थियो । 

मेलामा गैह्रकानुनी कार्यहरुले बढावा पाउन थाले पछि २०७३ भदौ २७ गते कांग्रेसले मेला लगाउन नदिने निर्णय गरे पछि मेला रोकिएको थियो । 

मेला सुरक्षाका हिसाबले चुनौतीपुर्ण
स्थानीय सरकारले मेला लगाउने निर्णय गरे पनि वर्तमान अवस्थामा सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहने ईलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमन तिम्सीनाको भनाई छ । 

सुरक्षाको दृष्टिकोणले मेला लगाउने पक्षमा आफु नरहेको उनले बताए । उनले भने, ‘तर स्थानीय सरकारले निर्णय गरे पछि सुरक्षा दिन सकिन्दैन भन्न मिल्दैन ।’ 

पर्यटकिय क्षेत्र भएकाले ११ बजे राति सम्म खुल्ला हुने बजारको सुरक्षा, मन्दिर परिसरको सुरक्षा, दैनिक भईरहेका घटनाहरुको अनुसन्धान, चाडपर्वमा सुरक्षाकर्मीको परिचालन भईरहेकोले मेलाका लागि थप जनशक्ति आवश्यकता हुने भएका हुँदा चुनौतीपुर्ण रहेको उनको दाबी छ । 

रातीको समयमा बढी घटना हुने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म मात्रै मेला लगाउन सकिने उनको सुझाव रहेको छ । उनले कार्यवाहक प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटि जुवा तथा सट्टाबाजीको पुर्ण रुपमा रोक, खेलतमाशाबाट हुने दुर्घटनाको जिम्मेवार तथा ईन्सुरेन्स, आयोजककै तर्फबाट सुरक्षागार्डको व्यवस्था, मापसे तथा लागुऔषध प्रयोग गरेर बस्ने समुहहरुको नियन्त्रण गर्न मेकानिज्म, मेला स्थलमा सिसिटिभि, नगर प्रहरी लगायत अन्य सुरक्षाकर्मीको व्यवस्था गर्न सुझाव दिएका छन् ।