Newslaya Home

​एकै दिन दुई करोडको खसीबोका किनबेच

शुक्रबार २६, असोज २०७५

धरान । चाडपर्व सुरु भएसँगै धरानको कृषिउपज बजारमा खसी, बोका, भेडा, किन्ने उपभोक्ता र बेच्नेको भीड बढेको छ । 
यस वर्ष खसी बोकाको कारोबार २५ प्रतिशतले वृद्धि भएको छ । 

बजारका अनुसार नजिकिदै गरेको दशैंको अन्तिम शुक्रबार १८ सय वटा खसी बोकाको खरिद बिक्रि भएको छ । धरानस्थित कृषि उपज बजार स्थलकाअनुसार करिब ३६ टन खसी बोका खरिद बिक्रि हुँदा प्रति केजी ५ सय रुपैयाका दरले १ करोड ८० लाख रुपैयाको कारोबार भएको हो ।

गत वर्ष दशैअघिको अन्तिम शुक्रबार १ हजार ३ सय वटा खसिबोकाको खरिद बिक्रि हुँदा १ करोड ३० लाख रुपैयाको कारोबार भएको थियो । अघिल्लो शुक्रबार पनि १ हजार गोटा खसि बोका बिक्रि हुँदा प्रति केजी ५ सयका दरले १ करोड रुपैयाको कारोबार भएको थियो ।

पूर्वी पहाडी जिल्लाहरू भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका पशुपालकले बिक्रीका लागि धरानस्थित कृषि उपज बजार स्थलमा खसी–बाख्रा, भेडा, ल्याउने गरेका छन् । बजारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ६० प्रतिशतभन्दा बढी खसि बोका बजारमा आएका छन् । प्रत्येक शुक्रबार बजार लाग्ने भएकाले २/३ दिनअघि देखि नै धरानको कृषि उपज बजार स्थलमा खसी बोका लिएर कृषकहरु आउने गर्दछन् । 

बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार प्रति किलो ५ सय रुपैयाका दरले ६ हजार रुपैयादेखि ३० हजार रुपैया सम्मको खसि बोका खरिद बिक्रि भएको छ । कृषकहरु पनि कृषिमा आकर्षण बढेकाले खसी बोकाको कारोबार पनि बढेको हो । 

कृषकहरुलाई नाफामुखी बनाउन राज्यको कृषिमैत्री नीति लागु गर्नु पर्ने उनीहरु बताउँछन् । दशैमा अष्टमीमा नवदुर्गा देवीलाई खसी, बोकाको बलि दिने प्रचलन रहेकाले दशैमा खसी बोकाको व्यापार बढी हुने गरेको छ । 

विगतका वर्षहरुमा बुढि बाख्रा र पाठा पाठीहरु भारत निकासी हुँदै आएकोमा गत वर्षदेखि निर्यात हुन छाडेकाले खसी, बोका मात्रै बिक्रि हुन थालेका छन् ।