​बराहक्षेत्रको विकास : भरौल र सूर्यकुण्डमा किन केन्द्रित ?

Newslaya Home

​बराहक्षेत्रको विकास : भरौल र सूर्यकुण्डमा किन केन्द्रित ?

सोमबार २९, असोज २०७५

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकाको विकास निर्माणका कामहरु नगर प्रमुखको पक्षमा हुने गरेको स्थानियले आरोप लगाएका छन् । 

मेयर निलम खनालले एकपक्षीय बजेट प्रयोग गर्ने गरेको स्थानियको आरोप छ । विकास बजेटलाई आफ्नो अनुकुल प्रयोग गर्ने गरेकोभन्दै बराहक्षेत्र नगरपालिका वडा नम्बर ९, १० र ११ का वडावासीहरु  आक्रोशित बनेका छन् ।

गौरवका आयोजना र विकास नीति भरौल केन्द्रीकृत भएको वडावासीहरुको आरोप छ । वडा नं। ९ का स्थानीय भेषराज दाहालले चतरा र भरौलमा मात्र विकास केन्द्रित गरेको बताए । भरौल मेयर खनालको घर भएको क्षेत्र हो ।

यता नेपाली काङ्ग्रेस प्रकाशपुर गाउँ इकाइ सभापती नवराज बस्नेतले नगरमा नगर प्रमुखको दबदबा रहेको धारणा राखेका छन् । उनले सुर्य कुन्ड र भरौलको मात्र उन्नति हुने गरी विकास गरेको आरोप लगाए ।

सुर्यकुण्ड बराह नगरपालिकाले पछिल्लो समयमा पत्ता लगाएको पर्यटकीय क्षेत्र हो । सो ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने योजना नगरले अघि बढाएपछि मेयर खनालसहितको व्यापारिक समुहले सो ठाउँमा जग्गासमेत किनिसकेको विपक्षीहरुले आरोप लगाएका छन् । ‘नगर प्रमुखले आफ्नो घर र जग्गा वरीपरी विकास केन्द्रित गरेका छन्,’ स्थानियले भने, ‘नगरको विकासभन्दा आफ्नोलागि भविष्य सुरक्षित गर्न मेयर सक्रिय छन् ।’

वीपी प्रतिष्ठान नजिकै हुँदा हुँदै बराहक्षेत्रकै अरु ठाउँलाई छाडेर भरौलमा २५ सैय्याको हस्पिटल बनाउने काम गलत रहेको उनीहरुको भनाई छ । प्रकाशपुर वा मधुवनमा अस्पताल बनाउन सकेको भए नगरवासीहरुलाई नै सहज हुने स्थानियको भनाई छ ।