Newslaya Home

​बलात्कारका घटना बढेपछि अण्डकोशमा हान्ने तालिम लिदै किशोरीहरू

सोमबार २९, असोज २०७५

काठमाडौ । नेपालमा बलात्कारका घटना बढिरहेको छ । यस्तोमा के गर्ने भन्ने ठूलै बहस सृजना भएको छ । नेपाल सरकारले पोर्न साइटहरु बन्द गरिदिएको छ । त्यसका साथै बलात्कारविरुद्ध अधिकारकर्मीहरुको आन्दोलनसमेत चर्किँदो छ । तर कुनै सुधार हुन सकेको छैन ।

यस्तै समस्या भोगिरहेको दक्षिण अफ्रिकाको एउटा शहर सोवेतोका कक्षाकोठाहरुमा बालिकाहरुलाई पुरुषको अण्डकोशमा प्रहार गर्ने तालिम दिइँदैछ । 

दिनहुँका बलात्कारका घटनामा प्रतिरक्षा गर्ने तरिका बालिकाहरु सिक्दैछन् । प्रशिक्षकले बलात्कारीको अण्डकोष भन्दै एउटा प्याड देखाउँछिन् । त्यसपछि कुहिनाले कसरी त्यो प्याडलाई हान्ने तालिम दिन्छिन् ।

११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । 

सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर योभन्दा १३ गुणा बढी घटना हुने गरेको बताइन्छ । 

१७ वर्षीया किशोरीलाई बच्चा जन्माएको भोलिपल्टै चिकित्सकको भेषमा रहेका व्यक्तिले अस्पतालको वार्डमै बलात्कार गरे । एक जना सात वर्षीया बालिका रेष्टुरेन्टको शौचालयमा बलात्कृत भइन् । 

बलात्कार र यौन आक्रमणका घटनामा कमी नआएपछि पुरुषको रसायनयुक्त बन्ध्याकरण गर्नुपर्ने माग त्यहाँका महिला अगुवाहरुले गरेका छन् । 

त्यसका साथै बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने, प्रतिरक्षा कसरी गर्ने भन्ने बारे जानकारी दिईँदैछ । 

त्यस्तै त्यहाँ कुनै पुरुषसँग कोठामा एक्लै नबस्न र कुनै गलत काम हुन लागे ठूलो स्वरमा चिच्याउनसमेत सिकाइँदैछ । 

दक्षिण अफ्रिकामा धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । 
एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ ।