Newslaya Home

​वीपीको जग्गामा डिपोटले दिएको फनपार्क निर्माणको निर्णय फिर्ता लिन आग्रह

मङ्गलबार २७, कार्तिक २०७५

धरान । विद्यालय संचालनका लागि भोगाधिकार मात्रै पाएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गा डिपोट उच्च माविले फन पार्क संचालन गर्न एक निजी कम्पनीलाई लिजमा दिए पछि धरान उपमहानगरपालिका सहित सरोकारवालाहरुले लिजमा दिने निर्णय फिर्ता गर्न डिपोटको ध्यानाकर्षण गराएका छन् । 

प्रतिष्ठानको सेवा विस्तार र विद्यालयकै शैक्षिक सेवा बिस्तारका लागि प्रयोग गर्न सकिने जमिन निजी कम्पनीलाई दिदाँ भोलिका दिनमा आवश्यक जमिनको अभाव हुने भन्दै धरान उपमहानगरपालिकाले लिजमा दिने निर्णय फिर्ता गर्न ध्यानाकर्षण गराएको हो । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सहित प्रतिष्ठानका शिक्षक, विद्यार्थी, कर्मचारी संगठनका प्रतिनिधीहरुले विद्यालयका प्रिन्सिपल राजकुमार राईलाई संचालक समितीले गरेको निर्णय फिर्ता गर्न आग्रह गरेको छ ।

कार्यवाहक प्रमुख भण्डारी सहित प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले, मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेलफेयर सोसाईटीका महासचिव डा. मधुर बस्नेत लगायत उपमहानगरपालिका कर्मचारी, समाजका प्रतिनिधी, सोसाईटीका पदाधिकारीहरुको उपस्थितीमा पार्कको अनुगमन समेत गरेको थियो । 

विद्यालय संगको छलफलमा उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख भण्डारीले नियम विपरित कुनै पनि कार्य गर्न नपाउने भएकाले तत्कालै विद्यालय व्यवस्थापन समितीको बैठक डाकेर निर्णय फिर्ता गर्न आग्रह गरेकी छन् । उनले विद्यालय तथा अस्पताल परिषरमा पार्क, मेलाहरु संचालन हुँदा समस्या हुने भन्दै चाडो भन्दा चाडो बन्द गराउन पनि आग्रह गरेकी छिन् । 

सोसाईटीका महासचिव बस्नेतले सौहाद्रपुर्ण वातावरणमा समस्या समाधान गर्न आग्रह गरे । उनले प्रतिष्ठानको जमिन संरक्षण गर्न संघर्षमा उत्रने समेत चेतावनी दिएका छन् । त्यसै गरि कर्मचारी समाजका अध्यक्ष तामाङले डिपोट स्कुलले भोगाधिकारको उद्देश्य र प्रयोजन विपरित हुनेगरी प्रतिष्ठान र नेपाल सरकारको अनुमति विना फन पार्कका  लागि ३० वर्ष लीजमा दिने कार्यले प्रतिष्ठान संगको सम्झौता, प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद र मन्त्रिपरिषदको निर्णय एवम् भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनको ठाडो उल्लंघन भएको बताए । 

दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य विज्ञान विश्वविद्यालय हुने सम्भावना बोकेको यस प्रतिष्ठान उचित रूपमा विस्तार हुँदै जाँदा अहिलेको जग्गा समेत अपुग हुन जाने अवस्था रहेकोमा यस किसिमको अतिक्रमणले प्रतिष्ठानको विस्तारमा गम्भीर अवरोध पैदा हुने उनले दाबी गरे । 

सरकारको निर्णय अनुसार विद्यालय संचालन गर्न भोगाधिकारका लागि मात्रै पाएको जमिन धरान स्थित ईजी राईडर्स कम्पनी प्रालिलाई ३० वर्षका लागि लिजमा दिए पछि विवाद चुलिदै गएको छ । 

यस अघि पनि पार्कको विरोध गर्दै नेपाली कांग्रेस धरान उपमहानगर समिती, नेकपा एमाले निकट युवा संघ लगाएतले भाडा दिने निर्णय फिर्ता लिदै विद्यालयलाई सच्चिन आग्रह गरिसकेको छ ।