Newslaya Home

​पुरस्कार पर्यो भन्दै ठग्ने सात जना मोरंगबाट पक्राउ, पत्रकारको परिचयपत्र पनि बरामद

बिहीबार २९, कार्तिक २०७५

मोरङ । भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने ७ जना पक्राउ परेका छन् ।

देशका विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूको नाममा रकम जम्मा गर्न लगाई विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी रकम निकाली ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसरी पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला फारबेसगञ्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर, २३ वर्षीय चन्दनकुमार भगत, २८ वर्षीय पंकजकुमार साह रहेका छन् । त्यस्तै यसरी ठगीमा संलग्न हुनेमा मोरङ कटहरी गाउँपालिका –४, का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका –७, का  २० वर्षीय  टुनटुन साह रहेका छन्  ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३५ हजार नेपाली रुपैयाँ, ३० हजार भारतीय रुपैयाँ, मोबाइलहरू, न्यूज क्राइम २४ डटकमबाट इस्यू गरिएको प्रेस रिपोर्टर लेखिएको परिचयपत्रसमेत बरामद गरेको छ । उनीहरुले देशका विभिन्न व्यक्तिहरूबाट १६ लाख ५७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।