​बसभित्र यात्रु बेहोस, होस खुल्दा पर्सभित्रको पैसा गायब

Newslaya Home

​बसभित्र यात्रु बेहोस, होस खुल्दा पर्सभित्रको पैसा गायब

सोमबार २४, मङि्सर २०७५

विराटनगर । बसभित्र बेहोस बनाएर सुनसरीको धरानका एक यात्रुलाई लुटिएको छ । सुनसरीको इटहरीमा झर्ने गरी काठमाडौँको गोङ्गबुबाट ना ६ ख १५६१ नम्बरको यात्रुवाहक बसमा चढेका ३५ वर्षीय खगेन्द्र लिम्बूले लुटिएको गुनासो गरेका हुन् । 

उनलाई विराटनगरमा बेहोस अवस्थामा आइतबार आफन्तको जिम्मा लगाइएको छ । धनकुटाको साँगुरी गढी गाउँपालिका ३ घर भई सुनसरीको धरान उपमहानगरपालिका ११ मा बसोबास गर्दै आएका लिम्बुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार दिउँसोबाट होसमा आएका लिम्बूले धनुषाको ढल्केबरमा ओर्लिएर चिया खाएर गाडीमा चढेपछि आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले आफूसँग दुबईको सात सय रुपैयाँ र नेपाली २६ हजार रुपैयाँ साथमा रहेको जानकारी दिएको दाजु प्रेमकुमार लिम्बूले बताए । तर उनको साथमा रहेको पर्स भने खाली थियो । साथै १० ग्रामको सुनको औँठीसमेत गायब थियो ।

दुबईबाट काठमाडौँ आइपुगेपछि खगेन्द्र घर आउनका लागि शनिवार साँझ इटहरीका लागि कोसी डिलक्स गाडी चढेका हुन् । तर बसका कर्मचारीले इटहरीमा ओराल्न खोज्दा बेहोस भएको पाइएपछि कसैलाई पनि खबर गर्न नसकेकाले विराट नगर बसपार्क ल्याएर मात्रै आफन्तलाई जानकारी दिएको बताएका छन् । 

खगेन्द्र बसेको छेउको सिटमा एक जना ट्राफिक प्रहरी पनि बसेका थिए । ट्राफिक जवान नरबहादुर आले मगर झापा जाँदै थिए ।

प्रहरीले बसका कन्डक्टर मोरङ सुन्दरहरैंचा नगरपालिका ६ का अनिश राई र सह चालक सुनसरी भन्टावारीका २१ वर्षीय शिवनारायण यादवमाथि सोधपुछ थालेको छ ।