Newslaya Home

​पैसा तिर्न नसक्दा नोबेलले दिएन शव

बिहीबार २७, मङि्सर २०७५

बिराटनगर । मोरङको कटहरी गाउँपालिका–३ की अनिता मिश्रलाई बिराटनगरको नोबेल मेडिकल कलेजले श्रीमानको शव अन्तिम संस्कारका लागि लैजान दिएको छैन ।


शवको लागि अस्पताल धाउन थालेको पाँच महिना पुग्न लाग्दा पनि उनलाई श्रीमानको शव दिएको छैन् ।  पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी अस्पतालले उपचार खर्च लिइसकेको छ ।

साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।


बिराटनगर ४ का हरि दहालले कुदाएको मोटरसाइकलले ठक्कर दिएको थियो । सामान्य परिवारका दाहालले उनीहरुलाई उपचारको लागि ३ लाख रुपैयाँ दिएका थिए बाँकी खर्च भने अनिताले आफैं जुटाएकी हुन् ।

दुर्घटनामा टाउकोमा चोट लागेका मिश्रको उपचार गरेवापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् । यसअघि उनले औषधि र उपचार खर्चवापत उनले १४ लाख भन्दा बढी बुझाइसकेकी छन् ।



श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप ३ लाख रुपैयाँ दिन सक्ने अवस्थामा नभएकोले उनी खर्च जुटाउन नसकेपछि श्रीमानको शवको अन्तिम संस्कारका लागि झिकाइदिन हारगुहार गरिरहेकी छिन् ।