Newslaya Home

​वर्डक्याम्प विराटनगरको तयारी भव्यरुपमा हुदै

बिहीबार २७, मङि्सर २०७५

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार ‘वर्डक्याम्प’ पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुको उपस्थिति रहने यस वर्डक्याम्पको तयारी अन्तिमरुपमा पुगेको आयोजक समितिका सुजित झाले बताए । उनले कार्यक्रमलाइ अन्तराष्ट्रियस्तरको बनाउनका लागि आफुहरु तयार रहेको जानकारी दिए । 

होटेल एसियाटिक एयरपोर्ट रोड विराटनगरमा हुने यस कार्यक्रममा विभिन्न देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ४ सयभन्दा बढी नेपाली तथा विदेशी वर्डप्रेस विशेषज्ञ सामेल हुनेछन् । विश्वभरि रहेका प्रविधिसम्बन्धी काम गर्ने विश्वव्यापी कम्पनी जेटप्याक, वुकमर्स, ब्लुहोस्ट, गोडेडिसहित सफ्टवेरिका कलेज, रारा थिम लगायतको सहयोगमा कार्यक्रम हुन लागेको आयोजक समितिका संयोजक शाण्डिल्य काफ्लेले बताए ।

कार्यक्रममा वर्डप्रेस सहित प्रविधिका विषयमा जानकारीहरु आदानप्रदान हुनेछ । यसै गरि वर्डक्याम्पकै अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट निशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने, वर्डप्रेसको म्युजियम, जब फेयर, प्रदेश १ मा संचालन हुने विभिन्न स्टार्टअप कम्पनीहरुको सामुहिक उद्घाटन लगायतका कार्यक्रम हुने आयोजक समितिका कमल साहले बताए । 

वर्डक्यामको अघिल्लो दिन संचालन हुने प्रिपार्टी र क्याम्प सकिएपश्चात हुने आफ्टर पार्टी विराटनगरको पर्पल हेड्जमा हुनेछ । 

कार्यक्रमकाबारेमा थप जानकारीका लागि वर्डप्रेसको केन्द्रिय कार्यालयले उपलब्ध गराएको आधिकारीक वेबसाइट http://www.2018.biratnagar.wordcamp.org हेर्न सकिन्छ ।