​बुढी खोलाको जग्गा प्लटिङ गरेर बिक्रि, दुई लाख रुपैयामा घडेरी

Newslaya Home

​बुढी खोलाको जग्गा प्लटिङ गरेर बिक्रि, दुई लाख रुपैयामा घडेरी

बुधबार ०२, माघ २०७५

इटहरी । मोरंगको सुन्दरहरैंचामा ऐलानी जग्गा किनबेच हुने गरेको खुलासा भएको छ । एक व्यक्तिले प्लटिङ नै गरेर खोला छेउको जग्गा बेच्ने गरेको खुलेको हो ।

सुन्दरहैंचा ५ स्थित बुढी खोला किनारको बगरको जग्गा प्लटिङ गरेरै किनबेच भइरहेको हो । स्थानिय व्यापारी रुद्र अधिकारीले खोलाको जग्गा प्लटिङ गरेर बेचेका हुन् । उनले एक विगाहा बढी जग्गा खोलाको मिचेको बताइएको छ ।

उक्त ठाउँमा अधिकारीको आफ्नो नम्बरी जग्गासमेत छ । नम्बरी जग्गामा प्लटिङ गरेका उनले खोलाको जग्गा पनि प्लटिङ गरेका हुन् ।

‘दुई लाख रुपैयामा ऐलानी जग्गा पनि छ,’ ग्राहक बनेर सम्पर्क गर्दा उनले नम्बरी जग्गासँगै ऐलानी जग्गा पनि आफूले बेचिरहेको बताए । उनले ७ देखि ९ धुर जग्गाको प्लट अब थोरै मात्र बाँकी रहेको बताए । ‘फेरी कसैले हटाउँदैन पछि ?’ भनेर राखेको जिज्ञासामा अधिकारीले भने, ‘त्यसको जिम्मेवार म भएँ ।’

यसरी खोलाको जग्गा प्लटिङ गरेको विषयमा स्थानिय तहलेसमेत चासो दिएको छैन । सुन्दरहरैंचा नगरपालिकामा जानकारी गराउँदा पनि खासै चासो नदिइएको स्थानिय नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले बताए । 

खोलाको जग्गा व्यक्तिगत स्वार्थका आधारमा किनबेच हुनु दुःखद् कुरा भएको उनले बताए ।