हिरासतभित्रै १५ बर्षीय बालकको मृत्यु, थाहै नदिइ पोष्टमार्टम

Newslaya Home

हिरासतभित्रै १५ बर्षीय बालकको मृत्यु, थाहै नदिइ पोष्टमार्टम

बिहीबार ०५, बैशाख २०७६

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले एक जना बालकको पोष्टमार्टम परिवारलाई थाहै नदिइ गरेको खुलेको छ ।

प्रहरीको हिरासतमा रहेका १५ वर्षिय बालकको पोष्टमार्टम गुपचुप गरिएको खुलेको हो । पक्राउ पर्दा बेवारिसे बालक भनेको प्रहरीले मृत्यु भएपछि भने आफन्त बोलाएर शव जिम्मा लगाएको थियो ।

बिर्तामोड प्रहरीले मेचीनगर ६ का १५ बर्षीय किरण कार्कीढोलीलाई मोवाइल चोरीको अभियोगमा चैत २९ गते बेलुका पक्राउ गरेको थियो । हिरासतमा राखिएकै अवस्थामा बैशाख २ गते राती उनको मृत्यु भएको थियो ।

झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार शौचालयमा झुण्डिएको अवस्थामा बालकको शव फेला परेको हो ।

श्रेष्ठका अनुसार आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर पोष्टमार्टमका लागि ल्याइएपनि पछि उनको घर काँकडभिट्टामा भएको पत्ता लागेको श्रेष्ठले बताए ।

कार्कीढोलीको मृत्युपछिको मुचुल्कामा मृतक कार्कीढोलीको उमेर १९ बर्ष उल्लेख छ । तर, बाबु रमेशले १५ बर्षमात्र पुगेको जानकारी दिए । ‘

बालकलाई पक्राउ गरेपछि अरु वयस्कहरुसँगै हिरासतमा राख्न नमिल्ने कानुन उल्लंघन गरिएको अधिकारकर्मीहरुको आरोप छ ।

मृत्युपछि पोष्टर्माटमसमेत गरिसकेको अवस्थामा काँकडभिट्टाबाट प्रहरीले गाडीमा छोराको शवसहित घर पठाइदिएको बुवा रमेशले गुनासो गरे । घरबाट हराएको छोरा प्रहरी कार्यालयमा आत्महत्या गरेको खबर आएपछि छक्क परेको बताए । उनले आफूले सोध्दा घटनालाई गुपचुप राख्न प्रहरीले चेतावनी दिएको बताए । घटना बाहिर आए छोराको हत्या आरोपमा थुनिदिने चेतावनीसमेत प्रहरीले दिएको उनको गुनासो छ ।

प्रहरीले २ गते राती २ बजे हिरासत भित्र रहेको बाथरुममा झुण्डिएर मृत्यु भएको जनाएको छ । परिवारलाई खवरै नगरी पोष्टमार्टम गरेपछि बालकको मृत्युको बारेमा शंका उत्पन्न भएको परिवारको आरोप छ ।

घटनाबारे जानकारी लिन फोन गर्दा बिर्तामोडका डिएसपी सुवास खड्काले केही बताउन नमिल्ने भन्दै बोल्न चाहेनन् । उनले सबै कुरा प्रवक्ताबाट जानकारी लिन भनेर पन्छिए ।

एकातिर गैह्र न्यायिक हिरासतमा राखेको र अर्कोतिर बालकलाई पक्राउपछि प्रहरीले अदालतबाट म्याद थप समेत नगरेको पाइएको छ ।

यता झापा प्रहरीले घटनाको छानविनका लागि जिल्ला प्रहरीका प्रवक्ता श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले शुक्रबारदेखि छानविन थाल्ने श्रेष्ठले जानकारी दिए ।