गर्मीमा चिसो र जाडोमा तातो हुने लुगा बन्यो

Newslaya Home

गर्मीमा चिसो र जाडोमा तातो हुने लुगा बन्यो

शुक्रबार ०६, बैशाख २०७६

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको टोलीले शरीरको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्ने कपडा बनाएको छ ।

यो कपडा हेर्दा ऊनको सामान्य लुगा जस्तै देखिन्छ तर यसमा न्यानोट्युब लगाइएको हुन्छ । जसको कारण कपडा शरीरको तापक्रम अनुसार आफैं एडजस्ट हुन्छ ।

कपडा लगाउँदा शरीरको तापक्रम तातो रहेछ भने न्यानोट्युब खुम्चिन्छन् र शरीरको तापक्रम चिसो भएमा न्यानोट्युबहरू फैलिन्छन् । कपडाको मूल्य ५ डलर राखिने सम्भावना छ ।

हुन त यस्ता किसिमका कपडा पहिले नै पनि बनिसकेका छन् । तर खेलाडीहरूले लगाउने स्पोर्ट्सवेयर मात्र अहिलेसम्म तापक्रमअनुसार एड्जस्ट गर्न मिल्थ्यो ।

कपडा बनाउने टोलीको दाबीअनुसार, यो कपडाबाट शरीरको तापक्रमलाई ३५ प्रतिशतसम्म व्यवस्थापन गर्न सकिन्छ । बजारमा उपलब्ध अन्य कपडा जम्मा ५ प्रतिशतसम्म तापक्रम व्यवस्थापन गर्न सकिन्छ ।

कपडा ऊनबाट बनाइएको हो तर यसमाथि न्यानोट्युबिङको कोटिङ गरिएको छ । न्यानोट्युब मानिसको कपालभन्दा हजार गुणा पातलो हुन्छ । न्यानोट्युब विशेष किसिमको कार्बन आधारित धातुबाट बनेको हो ।

शरीरको तापक्रम बढेर पसिना निस्किँदा न्यानोट्युब खुम्चिन्छ र इलेक्ट्रिक चार्ज उत्पन्न हुन्छ अनि शरीरको गर्मी बाहिर निस्कन्छ ।

अनि शरीरको तापक्रम घट्दा न्यानोट्युबहरू फैलिन्छन् र बाहिरको हावा भित्र आउन रोक्छन् । यो कपडा पूर्ण फिजिक्समा आधारित रहेको टोलीको दाबी छ ।