‘प्रसाद’ खुवाएर बेहोस बनाइ लुटपाट गरेको आरोपमा इटहरीका दुई जना पक्राउ

Newslaya Home

‘प्रसाद’ खुवाएर बेहोस बनाइ लुटपाट गरेको आरोपमा इटहरीका दुई जना पक्राउ

शुक्रबार ०६, बैशाख २०७६

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ मा ‘प्रसाद’ खुवाइ बेहोस बनाएर लुटपाट गरेको आरोपमा दुई जना पक्रउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की हजरा खातुन र महमद अली रहेका छन् ।

उनीहरुलाई प्रहरीले प्रहरीले १० महिनापछि विराटनगर महानगरपालिका–४ बरगाछीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु दुवैजना २०७५ असार १७ गते साँझ पानी परिहरको बेला लेटाङ–५ की ३९ वर्षीया सुनिता लिम्बूको घरमा ओत लाग्न भनी आएका थिए । त्यसपछि सुनिताकै मोबाइल मागेर विभिन्न ठाउँमा फोन गर्दै आफूहरुसँग साथमा ५ लाख रुपैयाँ रहेकोले उक्त रकम राखिदिनु समेत भनेका थिए ।

त्यस क्रममा सुनिता र पति ४५ वर्षीय प्रेम लिम्बूलाई ‘शिवजीको प्रसाद’ भनेर यसले फलिफाप गर्ने दावी गर्दै रातो टीका लगाइदिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उक्त टीका लगाइदिएपछि नै लिम्बू दम्पति बेहोस बनेका थिए । बेहोस बनेपछि सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला, ५ हजार नगद, कपडा समेत गरेर दुई लाख भन्दा बढी लुटपाट गरेर दुबैजना त्यहाँबाट फरार बनेका थिए ।