विराटनगर, धरान, इटहरीलगायत समेटेर विराट क्षेत्र प्रस्ताव, केन्द्रमा इटहरी

Newslaya Home

विराटनगर, धरान, इटहरीलगायत समेटेर विराट क्षेत्र प्रस्ताव, केन्द्रमा इटहरी

शुक्रबार ०६, बैशाख २०७६

विराटनगर । प्रदेश १ सरकारले इटहरी लगायतका क्षेत्रहरुलाई समेटेर बृहत विराट क्षेत्रको प्रस्ताव गरेको छ । बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७५ प्रदेश संसदमा दर्ता भएको छ ।

जसमा विभिन्न १२ वटा पालिका समेटेको छ । यस क्षेत्रको समग्र विकासका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत विकास आयोजना सञ्‍चालन गर्ने उद्देश्य रहेको सरकारको दाबी छ ।

सरकारद्वारा प्रस्तावित बृहत विराट विकास क्षेत्रमा सुनसरीका सात र मोरङका पाँचवटा पालिका समेटिएका छन् । जसमा मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका रहेका छन् भने सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी र रामधुनी नगरपालिका, त्यस्तै बर्जु र गढी गाउँपालिका रहेका छन् ।

विधेयकमा बृहत विराट विकास क्षेत्रको गाउँपालिका र नगरपालिका सबै वा केही क्षेत्र तोकी सरकारले बृहत विराट विकास क्षेत्रको सीमा निर्धारण गर्न सक्ने, त्यसमा एकीकृत विकास आयोजना सञ्‍चालन गर्न सक्ने, यस्ता आयोजनामा प्रदेश सरकार एक्लैले वा प्रदेश सरकार, संघीय सरकार, सम्बन्धित पालिका तथा निजी क्षेत्रसँग साझेदारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले तोकेको मन्त्री अध्यक्ष रहने गरी गठन हुने समितिमा सरकारले मनोनयन गरेका तीनजना प्रदेशसभा सदस्य, विराटनगर महानगरपालिकाका प्रमुख, अर्थशास्त्र, इन्जिनियरिङ, कानून व्यवस्थापन, सहरी योजना विषयमा विज्ञमध्येबाट एकजना महिलासहित तीन जना सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मध्येबाट सरकारले तोकेको एकजना सचिव सदस्य, भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव सदस्य र प्रमुख कार्यकारी निर्देशक सदस्य सचिव रहने समितिको अवधारणा विधेयकमा छ । सरकारले प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने कानूनी व्यवस्था विधेयकमा छ ।