प्रदेश १ को संसदमा विराट क्षेत्र बनाउने विषयमा चर्चा

Newslaya Home

प्रदेश १ को संसदमा विराट क्षेत्र बनाउने विषयमा चर्चा

आइतबार ०८, बैशाख २०७६

विराटनगर । इटहरी, विराटनगर, धरानलगायतका १० पालिकालाई समेटेर प्रस्ताव गरिएको बृहत विराट क्षेत्र सम्बन्धि बहसले प्रदेश १ संसदमा ठाउँ पाएको छ ।

प्रदेश नं १ सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विषयमा छलफल भएको हो ।

विधेयकमार्फत प्रदेश सरकारले सुनसरीका सात र मोरङका पाँचवटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र गठन गर्ने प्रस्ताव गरेको छ । जसमा मोरङका विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका छन् । त्यस्तै सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, बर्जु र गढी गाउँपालिका समेटिएका छन् ।

प्रदेशको स्थायी राजधानी र नामको टुंगो वैशाखको पहिलो साता लगाउने भनेपनि प्रदेश सरकारले नाम र राजधानी टुंग्याउनुको साटो यसरी नयाँ क्षेत्रको प्रस्ताव ल्याएको थियो । यो प्रस्तावलाई प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउने योजनाका रुपमा हेरिएको छ ।

सत्ता पक्षका सांसदले पनि क्षेत्रको सीमा, अधिकार र संरचनाको विषयमा प्रश्न राखेका थिए । बोल्दै सांसदहरुले क्षेत्रको विकासको आधार तय गर्ने नाममा प्रदेशको राजधानी र केन्द्रलाई विकेन्द्रितकृत गर्न खोजेको भए त्यो गलत हुने विचारसमेत राखे ।

बृहत विराट क्षेत्र विकासको नाममा राजधानी र केन्द्रलाई विभिन्न ठाउँमा छर्ने योजना बनाएको भए जनतालाई दुःख दिने काम मात्र हुने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आइतबार प्रदेशसभा बैठकमा पेश गरेको विधेयकमा १२ दफा र १ अनुसुची रहेको छ ।