पाँचथर हत्याकाण्ड : प्रहरीको लापरवाहीका कारण ठूलो दुर्घटना

Newslaya Home

पाँचथर हत्याकाण्ड : प्रहरीको लापरवाहीका कारण ठूलो दुर्घटना

बुधबार ०८, जेठ २०७६

धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको हत्याकाण्डमा प्रहरीको लापरवाहीका कारण ९ जनाको हत्या हुने गरिको घटना भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याएका मृत्तकहरुका आफन्तहरुले घटनाको अनुसन्धानबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । एक साता अघि सोही घरमा भएको नुनमा सिसा मिसाईएको घटनामा प्रहरीलाई उजुरी दिईदा समेत कारवाही प्रक्रिया अघि नबढ्दा ९ जनाको हत्या भएको उनीहरुले आरोप लगाएका छन् ।

मृतकका आफन्त प्रेम कुमार फियाकका अनुसार एक साता अघि नुनमा सिसा मिसाईदिएको आरोपमा दशमी प्रहरी चौकीमा बम कुमार फियाकका परिवारले उजुरी समेत दिएका थिए ।

हत्यामा संलग्न भई आत्महत्या गरिएका बम कुमार फियाकका कान्छा ज्वाई मान बहादुर माखिम सहित सुनिल फियाक र चन्द्र कुरुम्बाङको नाममा नुनमा सिसा हालिदिएर मार्न लागेको उजुरी दिएको प्रेम कुमार फियाकको भनाई छ । उनले भने, ‘प्रहरी आएर अनुसन्धान पनि अघि बढायो, नुनमा सिसा मिसाएको फोटो पनि खिच्यो तर कारवाहीका लागि कसैलाई पक्रिएन, त्यही भएर ९ जनाको हत्या भयो ।’

सोमबार राती मिक्लाजुङ–३, आरुबोटेमा धनराज सेर्माको पाँचजना र बमकुमार फियाकको परिवारका चारजनाको हत्या गरिएको थियो । फियाकका कान्छा ज्वाई मान बहादुर माखिमले सबैको हत्या गरेको आशंका गरिएको छ । कान्छा ज्वाई माखिम संग फियाक परिवारको आपसी झगडाका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर झुण्डिएको अवस्थामा भेटिएको मानबहादुर माखिम एक्लैले ९ जनाको हत्या गर्न नसक्ने भन्दै प्रहरीले उनलाई मात्र हत्यारा देखाएर उम्किन खोजेको आरोप आफन्तहरुको छ ।

मृत्तकका आफन्तहरुले प्रतिष्ठानमा पोष्टमार्टम पछि शव बुझेर लगेका छन् । प्रहरीका अनुसार फियाक परिवारलाई मृतक बम कुमारका भतिज मिसेक फियाक र शेर्मा परिवारलाई मृतक धनराज शेर्माका भाई मसिन प्रसार शेर्माले बुझेका छन् । यता हत्यामा संलग्न शंका गरिएका मान बहादुर माखिमको शवलाई उनका भाई सन्त कुमार माखिमले बुझेका छन् । फियाक र शेर्मा परिवारको अन्तिम दाहसंस्कार मिक्लाजुङ मै हुने भएको छ भने माखिमलाई धरानमै दाहसंस्कार गरिने जनाएको छ ।