पाँचथर हत्याकाण्डः ज्यान गुमाएका ९ जनाको आज छुट्टाछुट्टै ठाँउमा अन्त्येष्टि गरिने

Newslaya Home

पाँचथर हत्याकाण्डः ज्यान गुमाएका ९ जनाको आज छुट्टाछुट्टै ठाँउमा अन्त्येष्टि गरिने

बिहीबार ०९, जेठ २०७६

धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि आज (बिहिबार) गरिने भएको छ ।

हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा पुर्‍याइएको थियो ।

हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै अन्त्येष्टि गरिने बताइएको छ । हत्या गरिएका बमबहादुरका ज्वाँई धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ मा रहेको सराङडाँडाको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिने बताइएको छ ।

घटनामा संलग्न हुनसक्ने भनेर प्रहरीको शंकाको घेरामा रहेको बमबहादुरको कान्छा ज्वाईँ मानबहादुर माखिमको पनि मंगलबार दिउँसो झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको शव पनि पोष्टमार्टम गरेर आरुबोटे ल्याइएको छ । तर उनको शव भने परिवारलाई दिइएको छैन ।

घटनाको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलिले अनुसन्धान गरिरहेको छ ।