कहिले र कसरी कुटे रामप्रसाद चौलागाईलाई मेयर द्वारिकलालले ?

Newslaya Home

कहिले र कसरी कुटे रामप्रसाद चौलागाईलाई मेयर द्वारिकलालले ?

बिहीबार ०९, जेठ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले बुधबार इटहरीमा पत्रकारहरुलाई एउटा गम्भीर कुरा भने, ‘मैले त रामप्रसाद चौलागाईँलाई कुटेँ नि ।’

चौलागाईँ इटहरी खानेपानीका अध्यक्ष हुन् । उनले इटहरीको खानेपानीलाई लामो समय नेतृत्व दिएका छन् । साथै नेकपाको नगर इन्चार्जको जिम्मेवारीसमेत निभाइसकेका छन् । दुवै एउटै पार्टीका हुन् । तर दुवैबिच तिक्तता छ ।

पत्रकारहरुको क्यामेराको अगाडी नै मेयर चौधरीले यस्तो कुरा भनेपछि पत्रकारहरुले पनि मुखामुख गरे ।

‘तँ भुमाफिया, खानेपानीमा भ्रष्टाचार गर्ने, पाइपलाइन विस्तारमा, टेंकी निर्माणमा, जग्गा खरीदमा अनि आजचाहिँ मुठ्ठी कस्ने नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ?’ यसो भन्दै पिटेको बताए उनले ।

उनले यस्तो भनेको भिडियो फेसबुकमा भाइरल भइरहँदा चौलागाईले भने कहिँ कतै यो विषयमा प्रष्टिकरण दिइरहेका छैनन् । न त यो भनाई सत्य वा असत्य हो भनेर आफ्नो वक्तव्य नै सार्वजनिक गरेका छन् ।

आखिरमा चौलागाईलाई मेयर चौधरीले कहिले, कसरी र किन कुटे त ?

घटना जेठ ६ गतेको हो ।

चौलागाई भन्छन्, ‘सपथ ग्रहण समारोहमा वहाँ भित्र प्रवेश गर्दै हुनुहुन्थ्यो । मैले अभिवादन मेयर साब भनेर नमस्कार गरेँ । वहाँले नमस्कारलाई हात हाल्नुभयो । दुई पटक पिट्नुभयो । पन्छिँदै मन्चमा पुग्नुभो ।
वहाँले मप्रति गरेको व्यवहार मलाई चित्त बुझेन । मैले तपाईले किन यस्तो गर्नुभएको भनेर मन्चमा गएर सोधेँ ।

तँ माफिया, भ्रष्टाचारी, तँ मात्र क्रान्तिकारी भनेर वहाँले मलाई गाली गर्नुभयो ।’

मेयरले कुटेको हुँ भनेपछि मात्र चौलागाईले पिटिएको हुँ भनेर स्वीकार गरेका छन् । तर किन कुटिएँ भनेर आफूलाई थाहा नभएको चौलागाई बताउँछन् ।

त्यसयता आफूलाई बारम्बार चौधरीले धम्कीपूर्ण म्यासेज पठाइरहेको समेत उनले बताए । धम्की भरिएका म्यासेजहरु आफूले सिनियर नेताहरुलाई समेत फरवर्ड गरिसकेको बताउँदै कानुनी उपचारमा जान लागेको बताए ।
‘यो विषयमा पार्टी पंक्तिमा कुरा गरेर म कानुनी उपचारमा जान्छु,’ उनले भने ।

चौधरीले भने केही अनौपचारिक छलफलहरुमासमेत थारुले बाहुन कुट्यो भन्दै हिडेका थिए ।