इटहरीका कर्मचारी शुक्रबारदेखि काममा फर्किने (यस्तो बन्यो सहमती)

Newslaya Home

इटहरीका कर्मचारी शुक्रबारदेखि काममा फर्किने (यस्तो बन्यो सहमती)

माफि माग्ने सहमतिसँगै मेयर चिसो खान भेडेटार तिर !
बिहीबार ०९, जेठ २०७६

इटहरी । मेयरले कर्मचारीलाई कुटपिट गरेको भन्दै कामकाज ठप्प पारेर अन्दोलित भएका इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु काममा फर्किने भएका छन् ।

बिहीबार उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा भएको वार्तामा कर्मचारीहरु आन्दोलत स्थगित गरेर काममा फर्किने सहमति भएको हो ।

घुस खाएको भन्दै मेयरबाट कुटिएका सवइञ्जिनियर राम खड्काको विषयमा यसअघि घरनक्सा किर्तेको विषयमा परेको उजुरीको छानविनका लागि बनेको समितिले छानविन गरेर अघि बढ्ने सहमति भएको उपमहानगरपालिकाका कर्मचारी नायव सुब्बा सुरेश कार्कीले जानकारी दिए । यस्तै मेयरले वडासचिव मनोज दाहालमाथि हातपात गरेको विषयमा भने चाँडै मेयरले माफि माग्ने सहमति भएको कार्कीले बताए ।

‘अहिले मेयरसाहेव बाहिर जानु भएकाले उहाँ आएपछि मनोज दाहालको विषयमा चाहिं कर्मचारीका प्रतिनिधिसँग मेयरले माफि माग्ने सहमति भएको छ ।’ कार्कीले भने ‘उपमेयरसँग भएको वार्तामा यस्तो सहमति भएको हो ।’

यसैबीच उपमेयर लक्ष्मी गौतमले कर्मचारीहरुमाथि मेयरद्वारा गरिएको कुटपिटको घटनाले आफुलाई दुःखी बनाएको बताएकी छन् । ‘कुटपिटको घटनाका कारण उहाँहरुको भावनामा चोट पुगेको छ, हामी पनि मर्माहत भएका छौं ।’ उपमेयर गौतमले भनिन्, ‘हामीले कार्यपालिकाका उपलब्ध साथीहरु बसेर छलफल गरेर आत्मआलोचना गरेका छौं, अब कर्मचारीहरु काममा फर्कनु हुनेछ ।’

उनले मेयर बाहिर भएकाले फर्किएपछि कर्मचारीका प्रतिनिधीसँग मेयरसहित बसेर छलफल गर्ने समेत बताइन् ।

मेयरलाई फोन गर्नै डरमर्दो भयो : पत्रकार महासंघ
यसैबीच नेपाल पत्रकार महासंघ, प्रदेश पत्रकार महासंघ र पत्रकार महासंघ सुनसरीले समेत घटनाको भत्र्सना गर्दै विज्ञप्ती निकालेर मेयरले माफि माग्नु पर्ने जनाएका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव हिमाल दाहालका अनुसार पत्रकार महासंघ र सबै पत्रकारहरु मेयरले घटनाको विषयमा माफि माग्नुपर्छ भन्नेमा रहेको बताए । घटनापश्चात मेयरसँग कुनै सम्पर्क नभएपनि उपमहानगरपालिकाले विज्ञप्ती निकाल्ने तयारी गरिरहेको सूचना पाएको दाहालले बताए ।

घटनापश्चात समाचारको फलोअपका लागि मेयर चौधरीलाई फोन गर्न समेत पत्रकारहरु डराइरहेको उनले बताए । उनले भने, ‘पत्रकार मेयरसाहेवलाई फोन गर्न समेत डराउनु पर्ने अवस्था आएको छ, नगरपालिकाले विज्ञप्ती निकाल्ने तयारी गरिरहेको भनेर अन्यतिरबाटै जानकारी आएको छ ।’

मेयरचाहिं चिसो खान भेडेटार तिर !
बुधबार बिहानैदेखि विभिन्न लफडामा फसेका मेयर चौधरी बिहीबार भने कार्यालयमा हाजिर भएनन् । कर्मचारीहरुसँगको वार्तामा समेत उपमेयर लक्ष्मी गौतम मात्र उपस्थित भइन् ।

कर्मचारीहरुसँग थप छलफल गर्ने विषयमा कुरा गर्दै उपमेयर गौतमले मेयर चौधरी केही दिनका लागि बाहिर गएकाले आएपछि कुराकानी गर्ने बताइन् । उनले भनिन्, ‘मेयरसाहेव काठमाडौं गएकाले उहाँ आएपछि कुराकानी हुन्छ ।’ उपमेयर गौतमले मेयर चौधरी काठमाडौं गएको बताएपनि बुधबार निकै तनावपूर्ण अवस्थामा रहेका मेयर बिहीबार चिसो खान भेडेटार तिर गएको श्रोतले जनाएको छ ।

बुधबार घुस खाएको भन्दै मेयर चौधरीले सवइञ्जिनियर राम खड्का र वडासचिव मनोज दाहाललाई कुटपिट गरेका थिए । उनी स्वयम्ले नै आफुले कुटपिट गरेको स्विकार गरेका छन् । सोही विषयमा बुझ्ने क्रममा पत्रकार विकल रेग्मी र कृष्ण बहाव भट्टराईमाथि मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । घटनाको विरोधमा पत्रकारसम्बद्ध संघ–सँस्थाहरुले विरोध जनाएका छन् भने कर्मचारी कुटिएको विषयमा बुधबारदेखि नै आन्दोलित भएका उपमहानगरपालिकाका कर्मचारीहरुले बिहीबार उपमहानगरपालिका र २० वटै वडा कार्यालयमा कामकाज ठप्प पारेका थिए ।

– रेवती निरौला