अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार २३, असार २०७६

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर मृत्यु भएको हो ।

रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि गोरु हेर्न गएका विकाश एक्कासी ढलेको घटनाका प्रत्यक्षदर्शी विकाशका काका धनबहादुर जनालाले बताए ।

बिजुलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकाशलाई करेन्ट लागेको अनुमान गरिएको छ । करेन्ट लागेपछि आगोसमेत सल्केको र विकाशको दुबै खुट्टा जलेको धनबहादुरले बताए ।

घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बिजुलीको पोलमा राखिएको इन्सुलेटर भाँचिएर करेन्ट फैलिएको प्रहरीले जानकारी दिएको छ ।