कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु

Newslaya Home

कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु

बुधबार २५, असार २०७६

कञ्चनपुर । भीमदत्त नगरपालिकाको एक निजी विद्यालयमा शिक्षकको कुटाईबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राती मृत्यु भएको हो । माधवको भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।

मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । विद्यालय प्राध्यानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका छ । कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले बताएका छन् ।

मृतक कलौनीका बाबुले प्रअ यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाएका थिए । कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो ।