सप्तकोशीमा पानीको बहाव कति पुगेपछि खतरा ?

Newslaya Home

सप्तकोशीमा पानीको बहाव कति पुगेपछि खतरा ?

बिहीबार २६, असार २०७६

इटहरी । निरन्तरको वर्षासँगै सप्तकोशीमा पानीको बहाव बढ्न थालेको छ । एक लाख क्युसेक भन्दा बढेको छ । पानीको बहावलाई क्युसेकमा नापिन्छ । कोशी ब्यारेजमा पानीको बहाव नाप्ने प्रविधि छ ।

सप्तकोशी नदीमा धेरै पानी हुनु भनेको खतराको सुचक हो । किनकी कोशी ब्यारेज छेउछाउमा बनाइएको बाँधले धेरै भार थेग्न सक्दैन । भारका साथै कोशीको बहाव र धारका कारण पनि बाँधहरु सुरक्षित छैनन् ।

त्यसैले पानीको बहाव बढ्दै जाँदा वरपरका मानिसहरु त्रसित हुन्छन् ।

सप्तकोशीमा कतिसम्म पानी हुनु खतराजनक हुँदैन त ?

कोशीको बाढीबाट हुने खतरालाई धेरै तरिकाले विश्लेषण गर्नुपर्ने हुन्छ । पानीको बहाव १ लाख ६० हजारको हाराहारी हुँदा २०६५ भदौ २ गते कोशीको पूर्वी तटबन्ध भत्किएर नदी गाउँ पसेको थियो । त्यो बाढीले धेरै घर बगायो, खेत पुर्यो । महेन्द्र राजमार्ग क्षतविक्षत बनायो ।

त्यो समयमा बाँध मर्मतको जिम्मा लिएको भारतले बाँध मर्मतमा त्यती चासो नदिएको आरोप लागेको थियो । त्यसपछिका वर्षहरुमा अढाई लाख क्युसेकसम्म पानी पुग्यो । तर कतै केही भएन । त्यसैले पानीको बहाव भन्दा पनि त्यो समयको बाँध मर्मत, पानीको धार आदि कुराले पनि खतरालाई मापन गर्छ ।

ब्यारेजमा डेढ लाख क्युसेक पानीको बहाव हुने बित्तिकै रातो झण्डा फहराउने र रातो बत्ति बालिने गरिन्छ ।

त्यसो त कोशी ब्यारेजले ७ लाख क्युसेकसम्म पानी थेग्छ भनिन्छ । तर पहाडबाट बगाएर ल्याएको बालुवा कोशी ब्यारेजको उत्तरतर्फ थुप्रिँदै गर्दा कोशी ब्यारेजमा थोरै पानीको बहावले पनि ओभरफ्लोका साथै बाँध भत्काएर बाढी ल्याउन सक्छ ।

कोशीमा पानी बढेपिच्छे कोशी ब्यारेजका ५६ ढोकाहरु एकपछि अर्को गर्दै खोलिन्छन् । यसरी नखोलिए उत्तरतर्फ पानीको मात्रा बढी जम्मा भएर बाँध भत्काउने तथा बराहक्षेत्रमा कोशी बिचमा रहेको श्रीलंका टप्पु डुबाउने सम्भावना हुन्छ ।

तर कहिलेकाहिँ विहारलाई बाढीले दुःख दिन्छ भन्दै भारतले ढोका खोल्न आनाकानी गर्ने गरेको छ ।