आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन

Newslaya Home

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन

शुक्रबार २७, असार २०७६

काठमाडौं । घरघरमा तुलसी रोपेर शुक्रबार (आज) हरिशयनी एकादशी मनाइँदै छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)मा छरिएको तुलसीको बीउ आज रोप्नुपर्ने मान्यता छ ।

यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ । वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन् । यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो ।

धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नुहुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ । यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन् ।

यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ । चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन दिने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ ।

चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ ।