ट्वीटरमा धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

Newslaya Home

ट्वीटरमा धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

शनिबार २८, असार २०७६

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ ।

ट्वीटरले अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि प्रतिबन्ध लगाएको हो ।

आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका ट्वीट हटाइनेछ । तथापि, त्यस्ता अकाउन्टहरु निलम्बन भने गरिनेछैन । यो नियम लागू हुनुभन्दा अगाडि गरिएका त्यस्ता ट्वीटको आधारमा सम्बन्धित ट्वीटर अकाउन्ट निलम्बन गरिने छैन ।’

पछिल्लोपटक लागू गरिएको नयाँ नियम ट्वीटरको हिंसा, धम्की तथा दुर्व्यवहारलाई दुरुत्साहित गर्ने सामाग्रीमाथि बन्देज लगाउने विद्यमान नीतिकै विस्तारित रुप भएको बताइएको छ ।

फेसबुक र युट्युबले यसअघि नै जाति, धर्म तथा समुदायप्रति लक्षित घृणाजन्य तथा अमानवीय सामाग्रीहरुमाथि बन्देज लगाउने नीति यसअघि नै लागू गरिसकेका छन् ।