आज २०६औँ भानुजयन्ती

Newslaya Home

आज २०६औँ भानुजयन्ती

आइतबार २९, असार २०७६

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

भानुभक्तले ‘रामायण’ लेखेका थिए जुन अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनेर अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित भएका थिए ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए ।

भानुभक्तको विषयका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालील भानुभक्तको भोलीवादको विरोधमा रचना भएको कवितालाई आजका शासक तथा प्रशासकले बझेर व्यवहारमा उतार्न सकेमात्र सुशासन र समृद्धि सम्भव हुने बताउँछन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आइतबार बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

उनको निधन १९२५ असोजमा भएको थियो ।