‘ब्यारेजले थेग्नै नसकेपछि ५६ वटै ढोका खोलियो, ब्यारेज नै बगाउन सक्थ्यो’

Newslaya Home

‘ब्यारेजले थेग्नै नसकेपछि ५६ वटै ढोका खोलियो, ब्यारेज नै बगाउन सक्थ्यो’

आइतबार २९, असार २०७६

इटहरी । सप्तकोशी ब्यारेजका पानीको बहाव १५ वर्षपछिकै धेरै भएको ब्यारेजस्थित नेपाल प्रहरीले जानकारी दिएको छ ।

ब्यारेज नै जोखिममा परेपछि सबै ५६ ढोका शनिबार राती खोलिएको प्रहरी सहायक निरिक्षक ईश्वरी दाहालले जानकारी दिए ।

कोशीमा तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव भएपछि शनिबार राती सबै ढोका खोलिएको थियो । ढोका नखोलेकोले सप्तरीतर्फ पानीले बाँध चढेर गाउँ डुबाउन थालिसकेको थियो ।

ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका खोलिएको दाहालले बताए । उनका अनुसार भारतको बीरपुरका प्रहरी प्रमुखहरुसमेत राती अबेरसम्म बसेर बाढीको निरिक्षण गरेका थिए ।

ब्यारेजको क्षमता ९ लाख क्युसेक पानी थाम्ने छ भनिन्छ । तर ब्यारेजमा वालुवा थुप्रिएकाले पौने चार लाख क्युसेक पानीको बहावमै ओभरफ्लो भएको थियो ।

ढोकाहरु पुरै भने नखोलिएको दाहालले बताए । उनका अनुसार पुरै ढोका खोल्दा ब्यारेजमा दबाब पुग्ने हुँदा बालुवा काट्ने हिसाबले थोरै मात्र ढोका खोलिएको उनले बताए ।

आइतबार बिहान भने पानीको बहाव केही घटेको छ । बिहान पानीको बहाव २ लाख ९० हजार ३४० क्युसेक छ ।